काठमाडौँ । वागमती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व लिएको २१ दिनपछि मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।
मन्त्री र राज्यमन्त्री गरी ११ जना थपेर मुख्यमन्त्री शाक्यले मन्त्रिपरिषद् विस्तार गर्न लागेको निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिएका छन् । नेकपा एमाले वागमती प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ राज्यमन्त्री बन्ने पक्का भएको छ । मन्त्री बन्ने अरु १० जनाको नाम सार्वजनिक भइसकेको छैन ।
पार्टी विभाजनमा माधवकुमार नेपाल समूहलाई साथ नदिएर एमालेमै बसेकाहरु मन्त्री बन्ने प्राथमिकतामा छन् । गएको भदौ २ गते नेकपा एमालेको बहुमतका आधारमा मुख्यमन्त्री बनेकी शाक्यको सरकार अल्पमतमा परिसकेको छ । वागमतीमा ५६ मध्ये १३ जना सांसद एकीकृत समाजवादीमा गएपछि उनको सरकार अल्पमतमा परेको हो । उनले अब एक महिनाभित्रै प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।