बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमालेले कारबाही गरेका १४ जना उपस्थित भए संसद चल्न दिंदैनौं : ओली

बुधबार, भाद्र २३ २०७८

काठमाडौँ l पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई सदनमा स्वीकार नगर्ने उद्घोष गरेका छन् ।

एमाले संसदीय दलको बुधबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोशित हुँदै संसदीय प्रक्रिया र संस्कार विपरित एमालेले कारवाही गरेकाहरुलाई सांसद बनाइसकेको आरोप लगाए ।

नेकपा एमालेले १४ जना सांसदलाई कारवाही गरिएको भन्दै सांसद पद रिक्त गर्न निवेदन दिएको थियो । तर सभामुख सापकोटाले पदमुक्त गर्नु पर्ने अवस्था नरहेको निर्णय गरेका थिए ।

सभामुखप्रति आक्रोशित हुँदै संसदीय दलको बैठकमा ओलीले भने, ‘यस्ता व्यक्तिलाई सभामुख मानेर जान सकिँदैन । सभामुख स्वीकार्न सकिँदैन । यस्ता मान्छेले कसरी संसद चलाउँछन् ? नियमावलीविरोधी, संसदीय प्रचलनविरोधी, निष्पक्ष भूमिका नभएको एमालेविरोधी गठबन्धनको मतियार यस्ता व्यक्तिलाई कसरी सभामुख स्वीकार गर्न सक्छौँ?’

ओलीले अघि भने, ‘उहाँले एमालेविरोध गठबन्धनको मतियारका रुपमा आपराधिक काम गर्नु भएको छ । यो तमासा हेरेर बस्ने हो भने एमाले नामको बाघको जुँगा बिरालोले पनि उखेल्छ ।’

‘हामीले साउन २५ गते नै कारवाही गरिसकेका गैरसांसदको उपस्थितिमा सदन चल्न दिँदैनौँ’, ओलीले भने । उनले नेकपा (एकीकृत समाजवादी) का सांसद गैरसांसद रहेको भन्दै सदनमा स्वीकार नगर्ने बताए ।

उनले भने, ‘प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावलीले गैरसांसदलाई संसदमा भाग लिन दिँदैन, हामी त्यसरी नियमावलीविपरीत सदन चल्न दिँदैनौँ ।’