काठमाडौं भाद्र १८ । महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेका नेपाली कांग्रेसका युवा नेता गगन थापा संस्थापनइतरमा खुलेसगै पुरानो संस्थापन एकै ठाउमा उभिने आँकलन गरिएको छ । यसअघिको महाधिवेशनमा तीनवटा प्यानल स्पष्ट देखिएकोमा संस्थापनईतर समूहले पूर्व महामन्त्री कृष्ण सिटौलाको समूहलाई पनि आफु तर्फ तान्ने प्रयास गरिरहेको छ ।
संस्थापनईतर समूहमा बरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला र शेखर कोइरालालगायत नेता छन् । १३ औं महाधिवेशनमा सिटौलाले गगन थापासहितको छुट्टै प्यानल बनाए पनि अन्तिममा सभापति शेरवहादुर देउवालाई साथ दिएका थिए ।
तर पछिल्लो समय राष्ट्रिय राजनीतिमा सभापति देउवासग सिटौलाको मतभेद बढ्दै गएको छ । नेता थापा भन्छन्, “यो संविधानको रक्षा, व्यवस्थाको सुरक्षादेखि लोकतन्त्रलाई अघि बढाउने सन्दर्भमा रामचन्द्र पौडेल र कृष्ण सिटौलाबीच अधिक समानता छ ।” थापाका अनुसार यहि एजेण्डाले सिटौला र पौडेललाई एक ठाउमा ल्याउने छ ।
यसैकालागि आफुले पहल गरिरहेको पनि थापाले बताए । १४ र्औ महाधिवेशनसम्म आइपुग्दा सिटौलाले देउवालाई फेरि समर्थन गर्ने आधार टाढिएको थापाको दाबी छ ।
यसअघिको महाधिवेशनमा पूर्व महामन्त्री सिटौलाको प्यानलबाट उम्मेद्वारी दिएका थापा बरिष्ठ नेता रामचन्द्र पौडेलको प्यानलमा खुलिसकेका छन् । पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका थापालाई सिटौलाको साथ छाडेको हो भनेर सोधिएको प्रश्नमा उनले सिटौला छोडेको नभई उहालाई पनि यहि प्यानलमा ल्याउन भूमिका खेल्ने बताए ।
थापाले १४ औँ महाधिवेशनमा पुरानो संस्थापनलाई एकै ठाउमा ल्याउन सबैले पहल गर्नु पर्ने बताए । सिटौला पनि यो समूहमा थपिए संस्थापनईतरलाई सभापतिसहित अन्य पदाधिकारीका उम्मेद्वार चयन गर्न मुस्किल हुने देखिएको छ । यद्यपी यो समूहले निर्विवाद साझा उम्मेद्वार तय गर्ने दाबी गर्दै आएको छ ।