काठमाडौं, भाद्र १७ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी माओवादी केन्द्रमा बिलिन हुन्छ भन्ने भ्रम नछर्न चेतावनी दिएका छन् । ओलीको निरङ्कुशताविरुद्ध विद्रोह गरेर बनेको पार्टी बिलिन हुने सपना नदेख्न नेता नेपालले एमालेलाई चेतावनी दिएका हुन् ।
उनले तत्काल माओवादी केन्द्रसँग एकता गर्ने समेत सम्भावना नरहेको बताए । सिंहदबारमा रहेको पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा अध्यक्ष नेपालले ओलीको भ्रममा परेर एमालेमा अलमल नगरी आफ्नो पार्टीमा आएर जिम्मेवारी सम्हाल्न नेता कार्यकर्तालाई आग्रह गरे ।
आफ्नो पार्टीविरुद्ध केपी ओलीले कुप्रचार गरिरहेको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढ्न आफुहरु सक्षम रहेको नेपालको भनाई थियो । ओली र उनका मान्छेहरुले १० बुदे सहमतिको भ्रमपूर्ण व्याख्या गरिरहेको उल्लेख गर्दै उनले प्रदेश सभाका सांसदसहितका जनप्रतिनिधिलाई ओलीको चालमा नफस्न आह्वान गरे ।
संचारकर्मीले सोधेको प्रश्नमा अध्यक्ष नेपालले भदौ २३ अघि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना नरहेको समेत बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग बरोबर भेट भए पनि त्यसबारे छलफल नभएको अध्यक्ष नेपालको भनाई थियो । नेता नेपालले क्रान्तिकारी विचारको आधारमा निर्माण भएको आफ्नो पार्टी माओवादी केन्द्रसँग विलीन हुने भ्रम नछर्न ओलीलाई सचेत गराउदै आफ्नो पार्टी क्रान्तिकारी विचारको आधारमा निर्माण भएको दाबी गरे ।