शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

विभाजनको संघारमा पुगेको विवेकशील साझाको अलग–अलग केन्द्रीय समिति बैठक बस्दै

बिहिबार, भाद्र १७ २०७८

काठमाडौँ – विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठक बिहीबार अलग–अलग बस्दैछ । अध्यक्ष रवीन्द्र मिश्रले एकल रुपमा बैठक आह्वान गरेपछि संयोजक मिलन पाण्डेले पनि केन्द्रीय समिति बैठक बोलाएका छन् । अध्यक्ष मिश्रले ‘संघीयता र धर्मनिरपेक्षता’ मा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेपछि विवादमा परेको विवेकशील साझा विभाजनको संघारमा पुगेको हो ।

पाण्डेले विद्यानको धारा २० विपरित एकल रूपमा बैठक बोलाएर विद्यान विपरित कार्य गरेको आरोप लगाएका छन् भने मिश्रले पाण्डे समूहले आफनो प्रस्तावमा छलफल गर्न नदिएपछि बाध्य भएर बैठक बोलाउनु परेको जनाएका छन् । दुवैको बैठक अपरान्ह बस्दैछ ।

पाण्डेले पार्टीको विधानमा अध्यक्ष र केन्द्रीय संयोजकको सहमतिमा बैठक बोलाउने र एजेण्डा तय गरिने गरिएको स्मरण गराएका छन् । ‘यस पटक पनि उक्त अभ्यास अनुरूप एजेन्डामा सहमति कायम गर्न गरिएको हर सम्भव प्रयास सफल हुन नसकेको र पार्टीका अध्यक्षले उहाँकै शब्दमा ‘मार्ग परिवर्तन’ गर्नुभएको कारण पार्टीलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन उचित नदेखिएको हुँदा पार्टी विधानकै दफा ६१ (३) ले केन्द्रीय संयोजकलाई दिएको अधिकार प्रयोग विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठक आव्हान गरेको छ’ पाण्डेले केन्द्रीय सदस्यहरुलाई पठाएको इमेलमा भनिएको छ ।

गत वर्ष २४ मंसिरमा विवेकशील र साझा पार्टीबिच एकीकरण भएर विवेकशील साझा पार्टी गठन भएको थियो । तर संविधानका मूल विशेषता र गणतन्त्रलाई नै आरोपित गर्ने मिश्रको दस्तावेजले दलभित्र दुई धार देखिएको हो । सो पार्टी दोस्रो पटक विभाजन हुन लागेको हो । यसअघि सो पार्टी २७ पुस २०७५ मा विभाजित भएको थियो । पहिलो पटक ३ साउन २०७४ मा पहिलो पटक एकीकरण भएको थियो ।

केन्द्रीय सदस्यहरूलाई इमेल पठाउँदै संयोजक पाण्डेले अध्यक्ष मिश्रले राजनीतिक धार परिवर्तन गरेको कारण एजेण्डामा सहमति जुट्न नसकेकोले लामो समय पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै बैठक बोलाएको बताएका छन् । मिश्रले केही दिनअघि धर्म निरपेक्षता र संघीयताको विषयमा फरक धारणासहितको दस्तावेज सार्वजनिक गरेका थिए ।