काठमाडौं, भाद्र १५ । फुट्दै जुट्दै एक बनेको विवेकशील साझा पार्टी फेरि फुटको संघारमा पुगेको छ । पार्टी अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले अलग अलग केन्द्रीय समितिको बैठक बोलाएपछि पार्टी भित्रको मतभेद सतहमा आएको हो ।
अध्यक्ष मिश्रले जनआन्दोलनको उपलब्धिप्रति नै विमती राख्दै प्रतिवेदन सार्वजनिक गरेपछि पार्टी भित्र अन्तरविरोध सुरु भएको थियो । यसैको परिणाम स्वरुप अध्यक्ष मिश्र र संयोजक पाण्डेले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।
अध्यक्ष मिश्रले एकतर्फीरुपमा बिहीबारका लागि बैठक बोलाएको भन्दै संयोजक पाण्डेले पनि सोही दिनकालागि छुट्टै केन्द्रीय कमिटी बैठक डाकेका छन् ।
मिश्रले बोलाएको बैठक एकीकरण सम्झौता विपरीत भएको भन्दै पाण्डेले केन्द्रीय सदस्यहरुलाई केन्द्रिय समितिको बैठककालागि निम्तो गरेका हुन । मिश्रले भने मंगलबार नै भोलिका लागि बैठक आह्वान गरिसकेका छन् ।
अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने दस्ताबेज सार्वजनिक गरेपछि पार्टी भित्र मतभेद बढ्दै गएको हो । मिश्रको दस्तावेजलाई चुनौती दिँदै संयोजक पाण्डेसहितका चार नेताले पनि अलग्गै दस्तावेज सार्वजनिक गरेका छन् ।
२०७४ साउन ११ मा एक भएका तत्कालीन विवेकशील पार्टी र साझा पार्टी २०७५ पुसमा विभाजित भएका थिए । फेरि २०७७ मंसिरमा एकीकरण गरेका उनीहरुले ६ महिनाभित्र महाधिवेशन गर्ने सहमति गरेका थिए ।
तर महाधिवेशन नहुदै पार्टी फेरि फुटको दिशामा अग्रसर भएको छ ।