काठमाडौं, भाद्र १५ । सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि सरकारलाई पूर्णता दिन नसकेका सत्ता गठबन्धनले मन्त्रालय बाडफाडमा आज टुंगो लगाउने दाबी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठक अनिर्णित भएपछि आन्तरिक छलफलमा जुटेका दलहरुले संयुक्त बैठक बसेर आजै टुंगो लगाउने दाबी गरेका हुन् ।
यसकालागि आज प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल , नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल हुदै छ । आजको छलफलले मन्त्रालयको भागबण्डा मिलाउने नेताहरुको दाबी छ ।
सोमबार सत्ता गठबन्धनको बैठकपछि बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा दाहालले दलहरुबीच मन्त्रीपरिषद् विस्तारको तयारी बारेमा जानकारी गराएका हुन् । मन्त्रिपरिषद विस्तारमा ढिलाई भइरहदा जनतामा पनि नकारात्क सन्देश गइरहेको छ ।
कसले कति र कुन मन्त्रालय पाउने भन्नेबारेमा सत्ता गठबन्धनबीच नै सहमति नहुदा मन्त्रीपरिषद् विस्तार हुन नसकेको हो । प्रधानमन्त्री देउवाले गठबन्धन दलका नेताहरुलाई मन्त्री बन्नेको नाम पठाउन दबाब दिइरहेका छन् ।