शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

प्रदेश एक सरकार धरमरायो, तीस दिन पनि नकुर्ने विपक्षी गठबन्धनको तयारी

मंगलबार, भाद्र १५ २०७८

काठमाडौं, भाद्र १५ । प्रदेश एकको सरकारले आकार ग्रहण गर्न नपाउदै ढल्ने अवस्थामा पुगेको छ । संविधान अनुसार सरकारले तीस दिन भित्र विश्वासको मत लिनु पर्ने भए पनि विपक्षी गठबन्धनले एक महिनासम्म पनि नकुर्ने संकेत गरेका छन् ।

यसअघि एमालेमा रहेका सांसदहरु  पार्टी परिवर्तनकालागि आज निर्वाचन आयोगको कार्यालय जाने तयारीमा छन् । स्रोतका अनुसार माधवकुमार नेपाल नेतृत्वको दलमा आबद्धताका लागि  १० जना एमाले सांसद आजै  निर्वाचन आयोग पुगेर सनाखत गर्ने तयारीमा छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्रकुमार राईले मूख्यमन्त्री भीम आचार्यले राजिनामा दिएर मार्ग प्रशस्त गर्नुको विकल्प नभएको बताए ।   सरकार अल्पमतमा परेको जान्दाजान्दै मुख्यमन्त्री आचार्यले पदबाट राजीनामा नदिई सरकारको आयु लम्ब्याउने प्रयास गरेमा आफुहरुले अविश्वासको प्रस्ताव लैजाने राईले बताए ।

प्रदेश सरकार प्रस्ट अल्पमतमा परिसकेको भन्दै विपक्षी गठबन्धन दलका सांसदहरु मुख्यमन्त्रीलाई संविधानले दिएको ३० दिनको समयावधि पनि नकुर्ने पक्षमा देखिएका छन् । 

९२ सदस्यीय प्रदेशसभामा काँग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३ सांसद छन् । विपक्षी गठबन्धनका तीन दलको कुल सांसद संख्या ३९ छ भने एमालेबाट फुटेर आएका १० सांसद थपिँदा गठबन्धनसँग  ४९ सांसद हुन्छन् जुन संख्या सरकार बनाउनकालागि  पूर्ण बहुमत हो ।