काठमाडौं भाद्र १३ । सत्ता सहयात्री बन्न हतारिएको नया पार्टी नेकपा एकीकृत समाजवादीले आज संसदीय दलको नेता चयन गर्ने भएको छ ।
यसकालागि उसले आज संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलका नेताले आजै बस्ने बैठकबाट दलको उपनेता, प्रमुख सचेतक र सचेतक छान्ने सांसद मेटमणि चौधरीले बताए ।
एमाले विभाजन गरेर पार्टी खोलेका माधव नेपाल नै दलको नेता बन्ने बताइएको छ ।
पार्टी अध्यक्ष नै दलको नेता बन्ने नेपाली परम्परालाई माधव नेपालले पनि फलो गर्ने देखिन्छ । एकीकृत समाजवादीमा प्रतिनिधि सभाका २३ र राष्ट्रिय सभाका सात सांसद छन्। प्रतिनिधि सभाका माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, कल्याणीकुमारी खड्का, विरोध खतिवडा,जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, निरादेवी जैरु, प्रेमबहादुर आले, मेटमणि चौधरी,सरला यादव, भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन, कृष्णलाल महर्जन, कृष्णकुमार श्रेष्ठ, कलिला खातुन, हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम,पार्वतीकुमारी विशुंखे,लक्ष्मी चौधरी, विना बुढाथोकी र झलनाथ खनाल छन्।
राष्ट्रिय सभामा एकीकृत समाजवादीबाट डाक्टर वेदुराम भुसाल, शेरबहादुर कुँवर, ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा पौड्याल, सिंगबहादुर विश्वकर्मा, नन्दा चपाईं र शान्तिकुमारी अधिकारी छन् । भदौ ९ गते नयाँ दलको वैधानिकता पाएसगै नेकपा एकीकृत समाजवादीले सरकारमा जाने तयारीलाई तिब्रता दिएको छ ।