शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

झाँक्रीलाई कुन मन्त्रालय …………?

शुक्रबार, भाद्र ११ २०७८

काठमाडौँ l एकीकृत समाजवादीका तर्फबाट सरकारमा जाने मन्त्री, उपसभामुखदेखि विभिन्न संसदीय जिम्मेवारीमा जाने सांसदहरु सबैजसो नयाँ अनुहारका हुने भएका छन् । देउवा सरकारमा उक्त पार्टीले ६ मन्त्री पाउने निश्चित भएको छ ।

प्रतिनिधिसभामा रिक्त रहेको उपसभामुख पद पनि सोही दलले पाउने सहमति भएको छ । नयाँ दलको प्रमाणपत्र लिएपछि संसदीय दलको नेता, राष्ट्रियसभा दलको नेता, प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रमुख सचेतक, सचेतक गरी ६ जना सांसदले विभिन्न जिम्मेवारी पाउने छन् । यसरी एकीकृत समाजवादीले सरकारमा ६, संसदीय जिम्मेवारीमा ६ र उपसभामुख एक गरी १३ सांसदलाई शुक्रबारभित्रै नयाँ जिम्मेवारीमा पठाउने भएको छ ।

त्यसमध्ये संसदीय दलको नेतामा माधवकुमार नेपाल स्वयं नै जाने भएका कारण बाँकी चारको छनौट गरिने भएको छ । यसबाहेक विभिन्न संसदीय समितिका सभापतिहरु हेरफेर हुँदा एकीकृत समाजवादीले कम्तीमा तीनवटा संसदीय समितिको सभापति पाउने सम्भावना छ ।

पटक–पटक जनताबाट निर्वाचित भएर पनि गुटका आधारमा मूल्यांकन नहुने परिपाटीले हालसम्म मन्त्री हुन नपाएका सांसददेखि नयाँ पुस्तासम्मका अनुहार सरकारमा देखिने भएको एकीकृत समाजवादीस्रोतले जनाएको छ ।

त्यससँगै राष्ट्रियसभामा दलको नेतामा वामदेव गौतम वा बेदुराम भुषाल, संसदीय दलको उपनेतामा मुकुन्द न्यौपानेको नाम आएको छ । दुबै सदनमा गरी प्रमुख सचेतक र सचेतक (चार जना) को छनौट गरिने भएको छ । नामबारे अन्तिम निर्णय गर्ने जिम्मा पार्टी संयोजक माधव नेपाललाई दिइएको स्रोतले जनाएको छ ।

हालसम्म मन्त्रीका रुपमा चर्चामा आएका नाममध्ये विरोध खतिवडा, जीवनराम श्रेष्ठ, डा.खिमलाल देवकोटा, मेटमणि चौधरी, यज्ञराज सुनुवार, किसान श्रेष्ठ, रामकुमारी झाँक्री वा निरादेवी जैरु अग्रपंक्तिमा छन् ।

यीमध्ये एकजनालाई उपसभामुखको जिम्मेवारी दिइने भएको छ । तर, उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरा टुंगो लागेको छैन ।रामकुमारी झाँक्रीलाई भौतिक पूर्वाधार मन्त्रालयसहित उपप्रधानमन्त्रीसहित सरकारमा पठाइने तयारी भइरहेको उच्च स्रोतले बताएको छ । सरकारमा जाने वा संसदीय जिम्मेवारीमा जानेबारेमा सोमबारदेखि पार्टी संयोजक नेपालले सांसदहरुसँग सोधखोज गर्न थालेका छन् । त्यसमध्ये अधिकांशले मन्त्री हुने इच्छा दर्शाएको स्रोतले जनाएको छ ।