काठमाडौं, भाद्र ११ । नेपाल लोकतान्त्रिक खेलकुद संघले नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद सागमा भएको अनियमितताका सारा खेल क्षेत्र लज्जित भएको भन्दै हिसाब देखाउन राष्ट्रिय खेलकुद परिषद राखेपसग माग गरेको छ ।
लोकतान्त्रिक खेलकुद संघले आज एक विज्ञप्ति निकाल्दै महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले १३ औं सागमा भ्रष्टाचारजन्य कार्यहरु भएको देखिएकाले राखेप र सदस्यसचिवको धारणा सार्वजनिक गर्न माग गरेको हो । संघले सदस्यसचिव रमेशकुमार सिलवाललाई प्रश्न उठेपछि चित्तबुझ्दो जवाफ दिन माग गरेको छ ।

अघिल्लो साता महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले १३ औं सागमा खेल सामान खरिदमा आर्थिक अनियमितता भएको देखाएको थियो । वार्षिक प्रतिवेदन अनुसार साग खेलकुदमा ६ गुणासम्म लागत देखाएर खेल सामाग्री खरिद गरिएको भन्दै प्रश्न उठाइएको छ ।
लोकतान्त्रिक संघले महालेखाको महालेखाको प्रतिवेदनले जो कोहि खेलाडी, खेलकर्मी अनि खेलसंस्थामा आवद्ध व्यक्तिहरुलाई समाजमा शिर उँचो पारेर हिड्ने अवस्था नबनेको भन्दै खेलकुद क्षेत्रको छवी धुमिल नबनाउन माग गरेको छ । त्यस्तै खेलकुदलाई बदनाम बनाउन लाग्ने, भ्रष्टाचारमा लिप्त हुनेलाई कारवाहीको दायरमा ल्याउन संघले विभिन्न कार्यक्रमको घोषणा समेत गरेको छ ।