शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

कांग्रेसमा देउवाविरुद्ध हुंकार किन भइरहेको छ?

बिहिबार, भाद्र १० २०७८

काठमाडौं। नेपाली कांग्रेसका विभिन्न जिल्लाका सभापति पार्टी मुख्यालय सानेपामा रिले अनशनमा छन्। मंगलबारबाट उनीहरूले क्रियाशील सदस्यता वितरणमा धाँधली भएकोलगायतका माग राखी अनशन जारी राखे। उनीहरुले क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न पनि माग गरिरहेका छन्। 
क्रियाशील सदस्यता विवाद समाधानको प्रतिवेदन सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले बुझिसकेका छन्। तैपनि पौडेलले सभापतिहरुको अनशनलाई साथ दिँदै देउवाविरुद्धको हुंकार सुरु गरेका हुन्। 
प्रकाशमान सिंहले त देउवा तानाशाही भएको समेत आरोप लगाउँदै अव यस्तो प्रवित्तिलाई ढालेर देखाउने चेतावनी नै दिएका छन्। 
क्रियाशील सदस्यतामा विवाद रहेका कारण महाधिवेशन धकेलिएको थियो। त्यसलाई समाधान गर्नका लागि छानविन समितिले टुंग्याउन पूर्वमहामन्त्री कृष्ण सिटौलासहित केन्द्रीय सदस्यद्वय डा. मिनेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मा दिइएको थियो। उक्त जिम्मेवारीअनुसार काम सकि प्रतिवेदन बुझाइएको थियो। 
प्रतिवेदनमा केही क्षेत्र र वडामा नयाँ सदस्यता वितरण स्थगन गरिएको छ। त्यहाँ १३ औं महाधिवेशनकै क्रियाशील सदस्यताको आधारमा अधिवेशन हुनेसम्मको प्रतिवेदन तयार पारेको थियो।
क्रियाशील सदस्यताबारे सबैभन्दा बढी बारा र सप्तरीमा विवाद देखिएको थियो। सप्तरीको ३ नम्बर क्षेत्रका केही वडाहरूमा नयाँ सदस्यता स्थगन गएिको छ। त्यस्तै क्षेत्र नम्बर १, २ र ४ मा १३ औं महाधिवेशनका सदस्यकै आधारमा अधिवेशन गर्नेगरी समाधानको उपाय प्रतिवेदनमा उल्लेख गरिएको छ।
तर अब यो विवादले अझ बलियो स्वरुप लिएको बताइएको छ। नेता शेखर कोइरालाले अनशनलाई साथ दिँदै भनेका थिए,‘क्रियाशीलताका विषयमा माग पूरा हुनुपर्छ।’
विस्तारै कांग्रेसमा देउवाविरुद्धको मोर्चा बलियो बनाउनका लागि यो अनशन सहायक सहयोगी भइसकेको कतिपयको बुझाई छ। यद्यपि, देउवाले भने प्रतिवेदनअनुसार पेलेरै जाने तयारी गरेको बताइन्छ।