शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

भाजपा नेता चौथाइवालेको इन्ट्रीपछि माधव नेपालसँग एक चौथाई नेता नि भएनन्

मंगलबार, भाद्र ८ २०७८

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख बिजय चौथाइवाले ठूलो कार्यभार बोकेर आइतबार काठमाडौंमा उत्रिए। सत्तारुढ भाजपामा उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्र मानिन्छन्।

विभाजनको ठूलो क्षतीमा रहेको नेकपा एमाले मिलाउनेदेखि महन्थ ठाकुरको राजनीतिक अस्तित्व र महत्व देखाउनका लागि पनि चौथाइवालेको काठमाडौं भ्रमण भएको हो। यो मौकामा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र ठाकुरलाई भेट गरिसकेका छन्।

भारतको चाहनाविपरित बनेको भनिएको देउवा सरकारसँग खासै चासो नराखे पनि चौथाइवालेको बालुवाटार स्वागत निक्कै रोचक भएको थियो। उनलाई प्रथम महिला आरजु राणाले रक्षा बन्धनबाट स्वागत गरिन्।

खासगरी एमालेभित्र देखिने ठूलो विद्रोहलाई रोक्नु चौथाइवालेको योजना थियो। उनले दोस्रो पंक्तिमा रहेका नेताका माग सुनेर अघि बढ्नका लागि ओलीलाई सन्देश बोकेर आएको उच्च स्रोतको दाबी छ।

यसैअनुसार एमालेका दोस्रो तहका नेताहरुका मागअनुसार ओली सक्रिय देखिएका थिए। उनले सोमबार मात्रै ति नेतालाई बालकोटमा डाकेर माग कार्यान्वयन गर्ने प्रतिबद्धता गरेका छन्। यसकारण पनि नयाँ पार्टीलाई ठूलो बनाउने आशा राखेका माधवकुमार नेपालसँग एक चौथाई पनि सदस्य नहुने अवस्था आयो। विभिन्न सदस्य प्रभावित हुनसक्ने आँकलन गर्दै नेपाल चन्द्रागिरीतिर लाग्नुको उद्देश्य पनि सम्भावित प्रकरणको कारण रहेको बताइन्छ।

‘सदनमा ओली बलियो प्रतिपक्ष बनाउने र ठाकुर पक्षमा धेरै सांसद कायम गर्ने योजनासहित चौथाइवाले आएका हुन्’, स्रोतले भन्यो,‘अहिलेको अध्यादेशका आधारमा माओवादीभित्र पनि विभाजन हुन सक्ने सम्भावनाबारे सूचना लिनेछन्।’

अर्कातिर बालुवाटार प्रवेशपछि चौथाइवालेले अहिलेको प्रतिनिधि सभाको कुनै औचित्य नरहेको र चुनावी प्रक्रिया सुरु हुन लागेका कारण त्यसलाई अगाडि बढाउने संकेतका रुपमा पनि प्रधानमन्त्री देउवालाई आग्रह गरेको हुनसक्ने अनुमान गरिएको छ। देउवाले अहिले पाएको विश्वासको मतबाट ठाकुर समूहले फिर्ता लिएको र अल्पमतमा पारेको खण्डमा सरकारले नयाँ मोड र घोषणा लिन सक्ने भारतीय पक्षको अपेक्षा छ।