शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

माधव नेपालको नाडी समातेपछि गृहमन्त्री बन्ने झाँक्रीको सपना

शुक्रबार, भाद्र ४ २०७८

काठमाडौं– सत्ता गठबन्धनमा मन्त्रालय भागबन्डाका आधारमा माधवकुमार नेपालको पार्टीका लागि गृह छुट्याइएको छ। उक्त मन्त्रालयका लागि अहिले नेपाल समूहमा कसले दाबी गर्ने भन्ने विवाद कायम छ। 

नयाँ पार्टी दर्ताका क्रममा नेता नेपालको नाडी समातेकी नेत्री रामकुमारी झाँक्रीले गृहमन्त्रीमा दाबी गरेकी छन्। जसको नेतृत्वमा सरकारमा गए पनि आफूलाई गृहमन्त्री चाहिने उनको दाबी छ। 

सत्ता समीकरण मिलाउने र नेता व्यवस्थापनका क्रममा गृह मन्त्रालय झाँक्रीलाई दिन नसके अन्यमा पनि एडजस्ट गराउने तयारीमा छन्, नेता नेपाल। तर गृहको विकल्पलाई तत्काल दाबीबाट भने झाँक्रीले छाडेकी छैनन्। 

मन्त्रिपरिषद तयार पार्दा तत्कालका लागि गृह प्रशासन चलाउन भन्दै देउवाले बालकृष्ण खाँणलाई नियुक्त गरेका थिए। माधव नेपाल पक्षीय नेताहरूका अनुसार सरकारमा नजाँदा गृह कांग्रेसले चलाए पनि अब त्यसो हुँदैन। 

झाँक्रीका नाममा नेता नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमत भएको बताइन्छ। प्रधानमन्त्री शेरबहादुर देउवाले के निर्णय लिन्छन् भन्नेचाहिँ अहिलेको चासो बनेको छ। देउवाले गृह नछाड्ने संकेत दिएका छन्। 

यता, नेपाल समूहले गृह मन्त्रालय भागबन्डामा पाउने भएपछि एमाले एकीकरणको अभियान चलाइरहेका उपाध्यक्ष बामदेव गौतमले मुख मिठ्याउन थालेका छन्। 

यसैकारण उनले नेता नेपाललाई सघाउने घोषणा गरेका छन्। त्यसो हुँदा आफ्नै नेतृत्वमा सरकारमा जान पाइने महत्वकांक्षा गौतमसँग रहेको छ। 

नेकपा विभाजन र एमाले र माओवादी ब्युँतिएपछि पनि अवसरका लागि गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेका थिए। पत्नीलाई ओली खेमामा नै उनले उतारी आफू भने अभियानका नाममा सक्रिय भए।