काठमाडौँ l नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् तत्कालीन एमाले एकता कार्यदल सदस्य शंकर पोखरेलले पार्टीका पूर्व वरिष्ठ नेता माधवकुमार नेपाल कै मास्टर प्लानमा माओवादी र एमालेबीचको एकता पश्चात निर्मित नेपाल कम्युनिष्ट पार्टी(नेकपा) फुटेको भनि आरोप लगाएका छन् l
बुधबार रुपन्देहीको बुटवलमा नेकपा एमालेले आयोजना गरेको विधान मस्यौदा संशोधन सुझाव तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले अध्यक्ष नेपालमाथि प्रहार गरेका हुन् ।
‘नेकपा रहेकै समयमा प्रचण्ड र नेपालले ओलीलाई असफल पार्न खोजेको र पार्टीमा निषेधको राजनीति सुरू गरेका हुन् । निषेधको राजनीतिकै कारण माओवादी र एमालेबीचमा भएको सहमति टुटेको थियो,’ पोखरेलले भने ।
उनले प्रचण्डको पार्टी सत्ता कब्जा गर्ने षड्यन्त्र असफल भएपछि ओलीमाथि प्रहार गरेको कार्यकर्तालाई बताए । प्रतिनिधिसभा विघठन नेकपा भित्रको अन्तरसंघर्षको कारण नै भएको बताउँदै पोखरेलले पार्टी असफल बनाउने र कब्जा गर्ने षड्यन्त्रलाई विफल बनाउनको लागि योजनाबद्ध रूपमा प्रचण्ड लागेको आरोप लगाएका छन् ।
नेता पोखरेलले पार्टीको एकता कायम गर्न, संविधान जारी गर्न र संविधान सभाको निर्वाचन सफल बनाउने भूमिकामा केपी ओली नै नायक रहेको बताएका छन् ।
अध्यक्ष केपी ओलीलाई विस्थापन गर्न खोज्नु नै दुर्भाग्य भएको बताउँदै नेता पोखरेलले माधव नेपाल समूहलाई आगामी दिनमा भारी पर्ने समेत बताए ।