काठमाडौं । राजनीतिमा आदर्शका कुरा गर्ने र लोभी मनलाई मौकाको खोजीमा तौलिने कांग्रेसका युवा नेता गगन थापालाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले वास्ता नगरेपछि भित्री ‘कुन्ठा’ सार्वजनिक गरेका छन्।
देउवाको नेतृत्वमा सरकार गठन हुनासाथ स्वास्थ्यमन्त्रीमा आफ्नो चर्चा गर्न लगाएका उनले बुधबार भने मुखै फोरेका छन्। देउवाले उक्त मन्त्रालय आफैंसँग राखेर राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेपछि खङ्रङग बनेका थापाले ‘प्रधानमन्त्रीले चाहे स्वास्थ्य मन्त्री बन्न तयार छु’ भनेका छन्।
स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहँदा बेला मौका अघिल्लो पटक पनि विवादमा आएका थिए । केही निर्णय गरेवापत आफैंले चर्चा गरेका उनले भीआईपीलाई विदेशमा उपचार खर्च दिने देउवा सरकारको निर्णय रोक्न र सच्याउन पनि सकेनन् ।
एमाले नेता झलनाथ खनाललाई ३० लाख उपचार खर्च दिने निर्णय देउवाले कार्यान्वयन गर्दा सामाजिक सञ्जालमा बाध्य भएर बोलेका उनले उक्त विषय सदनमा उठाउन सकेनन् । त्यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भएको निर्णयको खुलेर विरोध गरेका थिए ।
मन्त्री बन्ने चाहना र लोभका कारण नै थापाले नबोलेको भन्ने स्पष्ट देखिएको बताइन्छ। त्यसो त यसपटक मन्त्री दिए थापा कांग्रेस महाधिवेशनमा देउवासँग जोडिन सक्ने सन्देश पनि बालुवाटार पुराउने गरेको बताइन्छ।
अघिल्लो पटक कांग्रेस–माओवादी गठबन्धन सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुँदा थापा स्वास्थ्य मन्त्री थिए। कोभिडको यो जोखिम र स्वास्थ्यको काम गर्नुपर्ने बेलामा विभागीय मन्त्री नभएका बेला थापाको मन पोखिएको छ।
मन्त्रिपरिषद विस्तार नभएको अवस्थामा स्वास्थ्य मन्त्रालय कांग्रेसले पाउँछ या पाउँदैन भन्ने विषयको पनि चर्चा छ। गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र माधवकुमार नेपाल पक्षले पनि उक्त मन्त्रालयमा चासो देखाएको छ।
यी सबैका चासोलाई बेवास्ता गर्दै थापाले आफूलाई उक्त मन्त्रालय दिए हुन्थ्यो भनेर सार्वजनिक गर्नुलाई कांग्रेसमा चर्चा सुरु भएको छ। थापालाई कतिपय कांग्रेसले भने भित्र एउटा कुरा र बाहिर अर्को चरित्र देखाउनेका रुपमा व्याख्या गर्छन्।
थापा कृषि फार्ममा बाख्रा पालनका नाममा राज्यको सम्पत्तिलाई सिध्याउने नेताका रुपमा पनि आलोचित छन्। उनले बाख्रापालनमा आफूले गरेको कमजोरीका बारेमा मौन नै रहने गरेका छन्।