शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

लगानी गर्ने पैसा जम्मा गर्नुहोस्, ७ अर्ब २० करोडको ऋणपत्र आउँदैछ !

मंगलबार, साउन १९ २०७८

काठमाडौं, साउन १९ । तोकिएको अवधिभित्र सावाँ र ब्याज दुवै भुक्तानी गर्ने सर्तमा संगठित संस्थाले जारी गर्ने वित्तीय औजार ऋणपत्र हो । निष्क्रिय पुँजीलाई बैंकिङ प्रणालीमा खिच्ने र तरलता अभाव हुन नदिने महत्वपूर्ण औजार मानिने ऋणपत्रका लगानीकर्ताले वार्षिक वा अर्धवार्षिक रुपमा ब्याज पाउँछन् । 

अहिले बजारमा ७ अर्ब २० करोड रुपैयाँको ऋणपत्र आउन लागेको छ । वाणिज्य र विकास बैंकले ९ प्रतिशत ब्याज दिनेगरि ऋणपत्र निष्कासनको प्रक्रिया अघि बढाएका हुन् ।

राष्ट्र बैंकले दुई वर्षअघि बैंकहरुले २०७७ असार मसान्तभित्र चुक्ता पुँजीको न्यूनतम २५ प्रतिशत बराबर ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको थियो । बैंकहरुले कोभिडलाई कारण देखाएर म्याद बढाउन आग्रह गरेपछि राष्ट्र बैंकले ऋणपत्र निष्कासनको म्याद २०७९ असारसम्म थपेको छ । 

अहिले २ वटा वाणिज्य र दुईवटा विकास बैंक ऋणपत्र निष्काशनको प्रक्रियामा छन् । ९ प्रतिशत ब्याज दिने गरि सेञ्चुरी कमर्सियल बैंकले २ अर्ब २० करोड र सिभिल बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्न लागेका हुन् । दुबै बैंकको ऋणपत्रको अवधि १० वर्ष तोकिएको छ । यस्तै गरिमा विकास बैंकले ८ दशमलव सात पाँच प्रतिशत र कामना सेवा विकास बैंकले ९ प्रतिशत ब्याज दिने गरी एक एक अर्बको ऋणपत्र ल्याउन धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् ।

गत वर्ष २३ वटा बैंक तथा वित्तीय संस्थाले ६९ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरे । सुरुवाती चरणमा लगानीकर्तालाई बुझाउन नसक्दा ऋणपत्र पूरै बिक्रि हुन सकेन । 

अहिले बिक्री नहुने समस्या छैन । एक त ऋणपत्रमा मुद्दति निक्षेपमा भन्दा बढी ब्याज पाइन्छ भने अर्को सेयर जस्तै दोस्रो बजारमा पनि खरिद बिक्रि हुन्छ । लगानीकर्ताको आकर्षण बढेकाले बैंकले छोटोभन्दा लामो अवधिको ऋणपत्रलाई प्राथमिकता दिन थालेका छन् ।

अहिलेसम्म २२ वटा वाणिज्य बैंक, एउटा विकास बैक र तीन वटा फाइनान्सले ९० अर्ब ८६ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेका छन् । 

बजारमा अहिले  सार्वजनिक भएका ऋणपत्रको अवधि धेर्रै जसोको १० वर्ष देखिन्छ। साथै ब्याजदर ९ प्रतिशतको हाराहारीमा छ । र, उनिहरुले यस्तो ऋणपत्रमा लगानी गरेबापत आमजनतालाई ६÷६ महिनामा ब्याज भुक्तानी गर्छन् ।  मूल्य प्रतिएकाई  १ हजार रुपैयाँ हुने ऋणपत्र  दोस्रो बजारमा कारोबार हुन भएकाले मुद्दति निक्षेपमा लगानी गर्नुभन्दा फाइदाजनक देखिन्छ भने निरन्तर ब्याज आउने भएकाले यो सेयरभन्दा पनि फरक छ ।