शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

किन अकस्मात स्थगित भयो मन्त्री छान्ने भनिएको माओवादी बैठक ?

सोमबार, साउन १८ २०७८

काठमाडौ – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने मन्त्रीको नाम टुंग्याउन बस्न लागेको भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

आज सोमबार दिउँसो ३ बजेका लागि पार्टीको मुख्यालय पेरिसडाँडामा डाकिएको बैठक अकस्मात स्थगित भएको छ । पार्टीका शीर्ष नेताहरूको व्यस्तताका कारण बैठक स्थगित भएको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

‘अध्यक्ष र स्थायी कमिटीका नेताहरूको व्यस्तताका कारण बैठक स्थगित भएको छ,’ उनले भने । नेकपा माओवादी केन्द्रले आज सोमबारको बैठकबाट सरकारमा पठाउने थप मन्त्रीको टुंगो लगाउने तयारी गरेको जनाइएको थियो ।

माओवादीबाट नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा वा हरिबोल गजुरेलको नेतृत्वमा सरकारमा जाने तयारी रहेको चर्चा छ । यसबारे सोमबारको बैठकले टुंगो लगाउने भनिएको थियो । तर अन्तिममा बैठक स्थगित भएको छ ।

यसअघि आईतवार समेत पार्टीको स्थायी कमिटी बैठक बसेको थियो । माओवादीले मन्त्रीको नाम टुंग्याएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आजभोलिमै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।