शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

ब्याजदर करिडोर निष्प्रभावी, बैंकहरुको असहयोगका कारण तल्लो सिमा १  प्रतिशतभन्दा तल ओर्लियो

बुधबार, साउन १३ २०७८

काठमाडौं । ब्याजदरलाई निश्चीत सिमामा राख्न राष्ट्र बैंकले ५ वर्ष यतादेखि कार्यान्वयनमा ल्याएको ब्याजदर करिडोर यतिबेला निष्प्रभावी बनेको छ । निक्षेप संकलनको दर १ प्रतिशतभन्दा तल ओर्लिन नदिने ब्याजदर करिडोरमा उल्लेख छ । तर अहिले यस्तो दर शुन्य दशमलव एक चार अंकमा ओर्र्लिएको छ।

बैंकहरुको असहयोगका कारण राष्ट्र बैंकले निक्षेप संकलनको तल्लो सिमा  १ प्रतिशत कायम राख्न सकेको छैन । राष्ट्र बैंकले ब्याजदरलाई निश्चीत सिमामा राख्न रिभर्स रिपो माग गर्दा बैंकहरुले न्युन रकम मात्रै प्रस्ताव गरेपछि ब्याजदर १ प्रतिशत भन्दा तल ओर्लिएको हो ।

राष्ट्र बैंकका अनुसार अहिले अन्तर बैंक ब्याजदर शुन्य दशमलव एक चार  अंकमा झरेको  छ । गत वर्षको मौद्रिक नीति अनुसार यो एक प्रतिशत भन्दा तल ओर्लिनु हुँदैन ।

नेपाल राष्ट्र बैंकले ब्याजदरमा उतारचढाव रोक्नका लागि आर्थिक वर्ष ०६८/६९ को अर्धवार्षिक मूल्यांकनमा पहिलो पटक ब्याजदर करिडोर लागू गर्ने कुरा उल्लेख गरेको थियो । तर राष्ट्र बैंकले यसलाई आर्थिक वर्ष २०७३/०७४ बाट मात्रै  कार्यान्वयनमा ल्यायो ।

 ब्याजदर करिडोर कार्यान्वयनमा आएपछि प्रत्येक वर्षको मौद्रिक नीतिमा संसोधन भने हुने गरेको छ। तर, संसोधित ब्याजदर करिडोर पनि अहिलेसम्म पुर्ण रुपमा प्रभावकारी भने हुन सकेको छैन ।

राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीति मार्फत निक्षेप संकलनको तल्लो सिमालाई २ प्रतिशतबाट झारेर १ प्रतिशत कायम गर्याे । तर अहिले बैंकहरुबिच हुने अन्तर बैंक कारोबारको ब्याजदर भने शुन्य दशमलव एक चार अंक कायम भएको छ ।

 अधिक तरलता भएका बेलामा अन्तर बैंक तल जानु स्वाभाविक हो तर, अहिले बजारमा ७१ अर्ब मात्रै तरलता छ । बैंकहरुले लगानी नगरि बसेका कारण अन्तर बैंक ब्याजदर तल झरेको राष्ट्र बैंक बताउँछ ।

त्यसो त घट्दो अन्तर बैंक ब्याजदरलाई राष्ट्र बैंकले तल  जानबाट रोक्न नखोेजेको पनि होइन । तर, बैंकहरुले नै यसमा असहयोग गरेको देखिन्छ । गत मंगलबार ( साउन ५ ) मा राष्ट्र बैंकले अधिक तरलता खिच्नका लागि ४० अर्बको रिभर्स रिपो जारी गर्याे । तर, बैंकहरुले जम्मा २८ अर्बको मात्रै आवेदन  दिए ।

राष्ट्र बैंकको रिभर्स रिपोमा रकम राख्न नखोजेका बैंकहरुले अहिले कर्जा बढाउन पनि सकेका छैनन् । यसरी अन्तर बैंक ब्याजदर घट्दा यसले अन्तत निक्षेपकर्ताको ब्याजदर तल जान सक्छ । यसमा राष्ट्र  बैंक चनाखो रहनुपर्ने  देखिन्छ ।