शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

चैतसम्म तीन करोड मात्रा खोप आउने

मंगलबार, साउन १२ २०७८

काठमाडौं । सरकारले आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना (कोभिड–१९) विरुद्धको खोप ल्याउने तयारी थालेको छ । १२ वर्षभन्दा माथिकालाई समेत खोप सेवा प्रदान गर्ने गरी सरकारले यस्तो तयारी थालेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले आगामी असोजदेखि चैतसम्म तीन करोड २३ लाख मात्रा खोप ल्याउने गरी तयारी अगाडि बढेको जानकारी दिए ।

उनका अनुसार बालबालिकाका लागि ६० लाख मात्रा कोरोनाविरुद्धको खोपका लागि प्रक्रिया अगाडि बढाएको जानकारी दिए । उनका अनुसार १२ वर्षदेखि माथि उमेरका लागि समेत खोप ल्याउने प्रक्रिया अगाडि बढाइएको छ ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा डा. लोहनीले खोपबारे सम्बन्धित देशबाट सकारात्मक सन्देश आएको जानकारी दिएका हुन् । त्यसबारे डा. लोहनीले थप स्पष्ट पार्दै भने, ‘असोजदेखि चैतसम्म तीन करोड खोप आउने गरी काम अगाडि बढाइएको छ । जुन देशमा नेपालले खोप ल्याउनका लागि पहल अगाडि बढाएको छ, ती देशबाट सकारात्मक सन्देश आएकाले खोप आउनेछ ।’

अघिल्लो सरकारले कुल जनसङ्ख्याको ७२ प्रतिशत जनसंख्यालाई खोपको प्राथमिकतामा पारेको भए पनि त्यसमा बालबालिका परेका थिएनन् । अहिले १२ देखि १८ वर्षसम्मका ४९ लाख बालबालिकासमेत गरी दुई करोड ६४ लाख जनालाई खोप दिने लक्ष्यले अब खोपको दायरामा बालबालिका समेत परेका छन् । गोरखापत्र दैनिकमा खबर छ l