शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

मन्त्री बन्ने लोभमा उपेन्द्र यादवको टाङमुनी छिरे राजकिशोर

सोमबार, साउन ११ २०७८

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षले पाउने भएको छ । निर्वाचन आयोगले सोमबार आधिकारिकताका लागि सनाखत गर्दा यादव पक्षमा ३४ जनाले हस्ताक्षर गरे भने १६ जना महन्थ ठाकुर पक्षमा उभिए । 

जेलबाट निर्वाचन आयोगसम्म पुगेका रेशम चौधरी भने तटस्थ बसेका छन्। तर यादव पक्षले ठाकुरतिर रहेका राजकिशोर यादव र मनिष सुमनलाई तान्न सफल भएको छ । 

राजकिशोर यसअघि केपी शर्मा ओली सरकारमा मन्त्री भएका थिए। यादव पक्षले उनलाई मन्त्री पद दिने वाचाका साथ आफूतिर उभिनका लागि भनेको थियो ।  आधिकारिकता नपाएका ठाकुर पक्षका एक नेताले भने,‘मन्त्री बन्नका लागि राजकिशोर उपेन्द्रको टाङमुनी छिरे, लात्ताले खाएपछि उत्तानो पर्नेछन् । ’

यता नेता राजेन्द्र महतोले निर्वाचन आयेगले पार्टी विभाजन गराएको दाबी गरेका छन्। पार्टीको आधिकारिकता जनताले तय गर्ने बताएका उनले संविधान अस्वीकार्य रहेका कारण प्रधानमन्त्री शेरबहादुर देउवा पनि प्रतिगमनकारी भएको बताएका थिए ।

अब ठाकुर समूहले नयाँ दल दर्ताको प्रक्रिया सुरु गर्नेछ। निर्वाचन आयोगमा मख्ख परेको यादव पक्षले भने ठाकुर समूहका लागि आत्माआलोचना गर्ने ठाउँ राखिदिएको जनाएको छ। यादव स्वयम्ले उक्त प्रकारको प्रतिक्रिया दिएका थिए ।

पछिल्लो पटक प्रधानमन्त्री देउवालाई विश्वासको मत दिए पनि जसपाबाट ठाकुर समूहको बहिर्गमन भने स्थगित हुन सकेन। अब जसपाको यादव पक्षले सरकारमा मन्त्रीको नाम पठाउनेछ ।