काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवा स्वयंले सम्हाल्ने र खोपको उपलब्धतालाई सरल बनाई सर्वाधिक लोकप्रियता कमाउने देउवाको दाउ असफल हुने देखिएको छ ।
देउवाले मन्त्रिपरिषद् विस्तार गर्दै स्वास्थ्य मन्त्रालय आफूसँगै राखेर स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए । श्रेष्ठलाई नियुक्त गरे लगतै देउवा पार्टी भित्र विवादमा मात्रै परेनन् उनिमाथि पूर्ण स्वास्थ्य नियुक्त गर्न दबाब परेको छ ।
एक कार्यकाल सफल स्वास्थ्य मन्त्रीको परिचय बनाएका कांग्रेस सांसद गगन थापालाई स्वास्थ्य मन्त्रीमा नियुक्त गर्न नागरिक तथा कार्यकर्तास्तरबाट प्रधानमन्त्री देउवामाथि चौतर्फी दबाब परेको हो । स्वास्थ्य बीमा कार्यक्रमदेखि स्वास्थ्य संस्थामा उपकरणको व्यवस्थापनमा सफलता पाएका पूर्वस्वास्थ्य मन्त्री थापाले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न सक्ने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री देउवाले आफ्नो पहिलो लक्ष्य र उद्देश्य भनेकै कोरोना नियन्त्रण र खोपको व्यवस्था रहेको बताएका छन् । यही साउन ३ गते विश्वासको मत लिँदा संसदमा प्रधानमन्त्री देउवाले आफ्नो सरकारको पहिलो उदेश्य कोरोना नियन्त्रण र सबै नागरिकलाई खोप लगाउने व्यवस्था गर्नु रहेको बताएका थिए ।
सरकारको उद्देश्यलाई पूरा गर्ने गरी सशक्तरुपमा काम गर्न गगन थापाले सक्ने भन्दै प्रधानमन्त्रीमाथि दबाब परिरहेको छ ।
आइतबार स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेको विषय भने विवादमा परेको छ ।