काठमाडौं। महाधिवेशनको तिव्र तयारीमा रहेको सरकार नेतृत्व गरिरहेको नेपाली कांग्रेसको कलह बढी भन्दा बढी हुन थालेको छ। अझ यसको व्यापकता मधेसमा परेको छ। उपसभापति रहेका विमलेन्द्र निधि सभापतिमा उठ्ने घोषणासहित अगाडि छन्। त्यसैले क्रियाशील सदस्यताका लागि उनको आफ्नै संगठनात्मक ढाँचा र निर्देशन छ।
तर निधिको पेलाई भएपछि सर्लाहीबाट प्रतिनिधित्व गर्ने अमरेशकुमार सिंहको भने तालु तातेको छ।
उनी निधिविरोधी गतिविधिमा व्यस्त छन्। क्रियाशील विवादका कारण कांग्रेस मुख्यालय सानेपामा रहेको अनशनमा सिंह पनि छन्। निधिको मनपरी चलेको भन्दै उनले राजीनामाको घोषणा गरिदिए। अनसन बसेका कार्यकर्ताको माग पूरा गर्न सिंहले पदबाट राजीनामा दिने घोषणा गरेका हुन्। क्रियाशील सदस्यतामा व्यापक धाँधली भएको आरोप लगाउँदै उनले राजीनामा दिने घोषणा गरेका हुन्।
क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै धनुषा, सर्लाही र बाराका कांग्रेस नेता कार्यकर्ता सानेपामा धर्ना बसिरहेका छन्। सांसद सिंह पनि नेता–कार्यकर्तासँगै अनसनमा छन्। उनले विहिबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउन लागेको बताए। सर्लाहीका सबै क्षेत्रमा विधिविपरीत सदस्यता बाँडिएको उनले बताए। कार्यकर्ताको माग पूरा गराउन आफूले राजीनामा दिन लागेको उनको भनाइ छ।
महाधिवेशनमा प्रतिनिधिको मत आफूतिर तान्नका लागि सिंहको यस्तो घोषणा आएको हो। सिंह नेपाली कांग्रेसमा भारतनजिक रहेका व्यक्तिका रुपमा चिनिन्छन्। उसो त उपसभापति निधि पनि भारतीय पक्षसँग निक्कै नजिक रहेको चर्चा चल्ने गरेको छ। देउवाइतर समूहमा सक्रिय रहेका सिंह महाधिवेशनमा निधिलाई हराउने सोचमा छन्। निधिले आफूलाई बलियो बनाउने विभिन्न ठेकेदारदेखि अनेकलाई मनपरी क्रियाशील सदस्यता बाँडेको आरोप लागेको थियो।