काठमाडौं । एमाले नेता माधवकुमार नेपालले एमसीसीमा सम्झौता पारित गर्नका लागि सहयोग गर्ने सर्तसहित शेरबहादुर देउवालाई समर्थन गरेपछि उपाध्यक्ष भिम रावलले साथ छाडेको खुलासा भएको छ । रावलको अध्यक्ष केपी शर्मा ओलीसँग टसल पर्नु र उनको सरकार रहेका बेला पनि विरोधमा उत्रिनुको कारण सोही एमसीसी रहेको थियो ।
नेपाली कांग्रेसले अमेरिकामा पुगी गरेको उक्त सम्झौता पारित गर्नुपर्ने खुलेआम बताउँदै आएको छ । अझ सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले त सदनमै उक्त प्रस्ताव जस्ताको तस्तै पारित हुनुपर्ने जोडबल गरेका थिए ।
‘यो सदन टिकाउने खेल संविधान जोगाउन भन्दा पनि एमसीसी पारित गर्न र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक तुस मेट्ने उद्देश्यमा रहेका कारणले राजीनामा दिनु परेको हो’, रावलले कतिपय निकटवर्ती नेतालाई भनेका छन्,‘यसले एमाले पनि विभाजन गर्ने भयो, सहमति कार्यान्वयनमा जाने बेला किन विश्वासको मत लिन हतार गरियो ?’
रावलले ५ बर्षका लागि दिइएको उक्त म्यान्डेड राजनीतिक रुपमा अनैतिक खेल भएका कारणले पूरा गर्न नसकेको भन्दै राजीनामा दिएको भनी अछामी जनतासँग माफी मागेका थिए । गठबन्धनको मुख्य घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी सम्झौता परिमार्जनसहित पारित हुने बताउँदै आएका छन्। तर त्यो भनाई मात्र रहेको रावलको बुझाई छ ।
एमसीसी परिमार्जनको विषय मुख्य हुने भए तत्कालिन नेकपाको कार्यदलले गरेको प्रस्तावअनुसार भईसक्ने थियो भन्दै रावलले यसमा प्रचण्डको पनि मिलोमतो रहेको आशंका गरेका थिए । उक्त विषयमा नेता नेपाललाई ब्रिफिङ गर्दा जसरी पनि ओलीलाई सत्ताबाट हटाउनुपर्ने भएकाले अन्य विषयलाई अगाडि नसार्ने जवाफ पाएपछि रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएको बताइन्छ ।