काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव मूलधारको राजनीतिमा शान्तिपूर्ण हिसाबले अवतरण गर्न निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्झौता गर्न पुगे।
ओलीसँग भएको तीन बुँदे सम्झौतापछि शान्तिपूर्ण राजनीतिमा आएका उनको पार्टीको माग जनमत संग्रह छ। यसबीचमा प्रतिनिधि सभा विघटनसँगै राजनीतिक परिवेश बदलिएपछि विप्लवले नयाँ चरणका भेटहरु सुरु गरेका छन्।
प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नियुक्तिसँगै अब सत्ता राजनीतिको केन्द्रमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपालसँग विप्लवको भेट बाक्लिन थालेको छ।
उनले सरकारसँग भएको तीन बुँदे सहमति इमान्दारीताका साथ कार्यान्वयनको माग राखेका विषयमा बाहिर आए पनि प्रचण्डको संयोजनमा हुन लागेको बृहत बाम ध्रुवीकरणको पहिलो चरणका वार्ता रहेको बताइन्छ।
यद्यपि, नेता नेपालसँग कोटेश्वरमा भएको भेटमा भने माओवादी एकीकरणको सुझाव दिइएको थियो। नेपालले माओवादी एकीकरण गरी बलियो शक्ति बनाउन र पछि बामपन्थी ध्रुवीकरण बलियो बनाउनका लागि सुझाव दिएको बताइएको छ।
विप्लवसहित डा. बाबुराम भट्टराई, मोहनविक्रम सिंह, मोहन वैद्यलगायतका स–साना पार्टीसँग पनि निरन्तर छलफल र बहस गरी बामपन्थी एकताको अभ्यास सुरु भएको स्रोतले जनाएको छ। यसैको प्रक्रियाका लागि विप्लवले प्रचण्ड र नेपाललाई भेट गरिरहेको बताइन्छ।
यसअघि विप्लवले वैद्यसँग पनि भेट गरेका थिए। माओवादीमा लामो समयसम्म सक्रिय रहेका उनी विचारमा मतभेद भएपछि विभाजनका बेला वैद्यसँग लागेका थिए। वैद्य समूहमा पनि उनको विचार नमिलेपछि नेकपाका नाममा हिंसात्मक आन्दोलनमा विप्लवको सक्रियता रहेको थियो।