काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ सोमवार बिहान बाँडफाँट हुने भएको छ ।
विक्री प्रबन्धक एनएमबि क्यापिटलको नक्साल, काठमाडौंमा रहेको कार्यालयमा बिहान ९:३० बजे आईपीओ बाँडफाँटको कार्यक्रम तय भएको हो ।
कम्पनीले असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी असार २५ गते प्रि–अलोटमेण्ट सम्पन्न गरेको थियो । कम्पनीले सर्वसाधारणमा ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत आईपीओ विक्री गरेको हो ।
सर्वसाधारणका लागि छुट्याईएको कुल रू ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओमध्य कम्पनीले शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानीकोषमा बाँडफाँट गरेको छ ।
सार्वजनिक निष्कासनमार्फत विक्री गरेको आईपीओको अन्तिम बाँडफाँट सोमवार हुन लागेको हो । मागभन्दा करीब ७२ गुणा बढी आवेदन परेको कम्पनीको आईपीओ भाग्यमानी ३६ हजार ३४९ जनाले १० कित्ताका दरले हात पार्नेछन् भने बाँकी २ कित्ता यी आवेदकहरु मध्येबाट थप २ जनाले एक एक कित्ताका दरले पाउनेछन् ।
हाल कम्पनीको चुक्तापूँजी रू ८ करोड २२ लाख ५० हजार रहेको छ । संस्थापकतर्फ ६७ दशमलव ८९ प्रतिशत चुक्तापूँजी कायम रहेको कम्पनीले सर्वसाधारणमा ३२ दशमलव ११ प्रतिशत आईपीओ विक्री वितरण गर्न लागेको हो । आईपीओ बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू १२ करोड ११ लाख ५० हजार कायम हुनेछ ।
गत आर्थिक वर्ष ०७६र७७ सम्ममा रू २ करोड ९६ लाख ७६ हजार खुद नाफा गरेको कम्पनीको प्रतिशेयर आम्दानी रू ६ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ रू ११० दशमलव ८४ रहेको छ । वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता रू ११० दशमलव ८४ देखि रू ३३२ दशमलव ५२ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।