काठमाडौं l नेकपा एमालेको आन्तरिक विवाद मिलाउन आज पनि कार्यदलको बैठक बस्दैछ। बैठक विहान ११ बजे बस्ने माधव नेपाल पक्षका कार्यदल सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए। दुई शीर्ष नेताबीचको भेटमा भएको छलफल अनुसार आज कार्यदलले सहमतिको खाका तयार पार्नेछ। नेता पाण्डेले आजको वार्ता निर्णायक हुनसक्ने पनि बताए।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ एक्लाएक्लै वार्ता भएको छ । ‘उहाँहरुको कुराकानी सकारात्मक छ । सकारात्मक ढंगले उठेर हिँड्नुभएको छ । बाँकी कुरा कार्यदल बैठकमा हुन्छ,’ नेता पाण्डेले भनेका छन् ।
बुधवार साँझ ओली र नेपालबीच मेरियट होटेलमा दोस्रो तहका नेताहरुसहित वार्ता भएको छ । वार्तामा पार्टी एकतालाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको उपाध्यक्ष भीम रावलले बताएका छन् ।
उपाध्यक्ष रावलले भने, ‘दुई शीर्ष नेताबीच कुराकानी भयो । समग्रतामा पार्टी एकतालाई कसरी अघि बढाउने, हामीले गर्दै आएका कुरालाई सकारात्मक परिणाममा कसरी पुर्याउने भन्ने सिलसिलामा कुराकानी भएको पाएका छौं ।’