शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

हार्ने सभापतिमा उठ्ने देउवाको निधो

आइतबार, असार २० २०७८

काठमाडौं ।  जसरी पनि कांग्रेसको १४ औं महाधिवेशन गराउने निधो गरेका शेरबहादुर देउवा फेरि सभापतिको उम्मेदवार बन्ने भएका छन् ।  उनी हार खाए पनि नेतृत्वमा पुनर्दोय हुने सपनाबाट विचलित नहुने भएका छन् । 
त्यसैले उनले आफ्नो क्याम्पका नेतालाई ब्रिफिङ गरेर भनेका छन्– फेरि उठ्छु सहयोग गर्नुहोस्। आफ्नो क्याम्पमा रहेका उपसभापति विमलेन्द्र निधि पनि सभापतिमा उठ्ने भएपछि देउवाले मधेसको मोर्चा सम्हाल्नका लागि अर्का उपसभापति बिजयकुमार गच्छादारलाई जिम्मा दिएका छन् ।  

तर कांग्रेसको आगामी महाधिवेशनमा सभापतिको दौडमा देउवाबाहेकका अन्य पनि सक्रिय छन् ।   बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्ण सिटौला र सुजाता कोइरालासम्मले दाबी गरिसकेका छन् ।  तर सांगठनिक सक्रियता, नेतृत्व र दाबीका आधारमा निधि, शशांक र प्रकाशमानको समूहबाट एक जना सभापतिको मैदानमा हुनेछन्। यसमा निधिको दाबी बलियो छ । 
आम चुनावमा एमालेका लालबाबु पण्डितसँग मोरङ–६ मा पराजित भएपछि शेखर कोइराला कांग्रेस महाधिवेशनको तयारीमा जुटेका कारण सभापतिको उम्मेदवारी नछाड्ने मुडमा छन् । 

संस्थापन र त्यसइतरकै भिडन्त महाधिवेशनमा देखिने भएको छ। कोइराला परिवारको विरासत जोगाउन पौडेललाई पाखा लगाउँदै शेखर सक्रिय भएका हुन् । बरिष्ठ नेता पौडेलले सभापतिमा इच्छा देखाए पनि दाबी गरेका छैनन्। १३ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बने पनि कृष्ण सिटौला यसपटक मैदानमा हुने छैनन् ।  
कांग्रेसमा त्रिपक्षीय भिडन्त हुँदा देउवा पराजित हुने अवस्था बलियो रहेको बताइन्छ। देउवा क्याम्पकै निधि पनि मैदानमा भएपछि दोस्रो राउन्डमा शेखरलाई उनको साथ हुन सक्ने बताइएको छ। किनभने निधिले नजितेको अवस्थामा उनले अर्को पुस्ता नेतृत्वमा आउनुपर्ने बताउँदै आएका छन् ।  

देउवाले महाधिवेशनमा पुनः जिते अर्को पुस्ताले नेतृत्व नै नपाउने, ‘कोल्याप्स’ हुनसक्ने भन्दै निधि सभापतिका लागि अग्रसर भएका हुन्। ‘धेरैका अपेक्षा छन्। तर, सबै सभापति हुन सक्दैनन्। यस पटक देउवाको विकल्प कांग्रेसले चुन्न सक्छ’, स्रोतले भन्यो । देउवाले जीत भन्दा पनि निधिको दाबीलाई परास्त गर्नुपर्ने प्रण गरेका छन्। निधिले प्रकाशमान र शशांकसँग गठजोड गरी कमजोर बनाएको भन्ने उनको बुझाई छ। नेतृत्वमा आफूविरोधी आए पनि निधिलाई ब्रेक लगाउने देउवाको योजना रहेकाले गच्छादारलाई अगाडि सारिएको बताइन्छ ।