शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

किन एकाएक माधव निवास पुगे ओलीका विश्वासपात्र ?

आइतबार, असार २० २०७८

काठमाडौं – पार्टीले दिएको समय घर्किनै लाग्दा एमाले नेताहरू माधवकुमार नेपाललाई फकाउन कुदाकुद गरेका छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन पार्टीका सांसदहरूलाई हस्ताक्षर फिर्ता लिन दिएको समय आज सकिँदै छ । एमालेको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले सोमबार साँझ ५ बजेसम्मको समयसीमा दिएको थियो ।

तर, माधवकुमार नेपाल पक्षले हस्ताक्षर फिर्ता लिनु मृत्युपत्रमा हस्ताक्षर गरेसरह हुने भन्दै फिर्ता नलिने जवाफ फर्काएको छ । आइतबार बिहान अर्थमन्त्री एवं एमाले उपमहासचिव विष्णु पौडेललगायतका नेताहरु नेपाल निवास कोटेश्वर पुगेका छन् ।

पार्टी विवाद मिलाउने प्रयासस्वरुप पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य शंकर पोखरेल कोटेश्वर पुगेका हुन् । उनीहरूबीच अहिले छलफल भइरहेको बताइएको छ ।