काठमाडौं । प्रधानमन्त्रीमा निर्वाचित भएका माधवकुमार नेपाललाई तत्कालीन समयमा माओवादीसँग मिलेर सत्ता गिराउन उद्यत रहेका झलनाथ खनालको गोप्य रणनीति भंग गर्ने मूल पात्र थिए, केपी शर्मा ओली । त्यसैले उनलाई आठौं महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन लगाएर बुटवलमा माधव नेपालले काँध थाप्छु भनेका थिए । सँगै हिँडे पनि नेपालले गहिरो गरी सहयोगचाहिँ गरेका थिएनन् । तर नेपालको सरकार जोगाउनका निम्ति माओवादीसँग वैचारिक र भौतिक रूपमा नै भिँड्नुपर्ने रणनीतिमा ओली सक्रिय थिए । त्यसैले उनलाई एमालेभित्र प्रभावशालीसमेत बनाइरहेको थियो ।
‘एमालेका कार्यकर्तामाथि प्रचण्डका छुद्र र हिंस्रक वाईसीएलहरू आक्राम भए । बुटवलमा त प्रचण्ड थैवको हत्या नै गरियो । त्यसबेला नेपाललाई जोगाउने काममा ओलीको भूमिका बलियो रहेको थियो’, स्रोतले भन्यो ।
त्यसो त नेपाललाई जोगाउन ओलीले कतिसम्म गरेका थिए भन्ने राधिका शाक्यको पुस्तकमा पनि उल्लेख रहेको छ । उनको मेरा अनुभूतिहरू भन्ने पुस्तकमा ओलीले नेपाललाई सहयोग गरेको तर नेपाल पक्षले कतिसम्म हेय गरेको भन्ने वृत्तान्त छन् ।
तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटवाललाई बर्खास्त गर्ने निर्णय तुहिएपछि तत्कालीन प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएर ‘नागरिक सर्वोच्चता’ आन्दोलन चलाएका थिए । प्रचण्डको बहिर्गमनपछि एमाले नेता नेपाल प्रधानमन्त्रीमा निर्वाचित भए । तर माओवादीले उक्त सरकारलाई असफल बनाउनका लागि सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मका आन्दोलन गरेको थियो । उक्त सरकारविरोधी आन्दोलनको प्रतिकार गर्दै जोगाउनका निम्ति हालका प्रधानमन्त्री केपी शर्मा ओलीले डेरा रणनीति अपनाएको उनकी पत्नी शाक्यले खुलाएकी हुन् ।
पुस्तकमा सो प्रकरणमा ओलीले माधव नेपालको सरकार जोगाउनका लागि कसरी रणनीति बनाए भन्ने उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘हामी बालकोटको घर छाडी सहरमा डेरा नै बसेका थियौं, केपीजीले सरकार जोगाउन र माओवादी आन्दोलनको प्रतिकार गर्नका निम्ति रणनीति बनाउनुहुन्थ्यो ।’ सडकमा आएपछि माधव नेपाल सरकारलाई कठपुतली सरकार भन्दै माओवादी आन्दोलनमा उत्रिएको थियो । प्रचण्डले अभिनेत्री रेखा थापासँग नाचेको प्रकरण पनि सोही बेला विख्यात बनेको थियो । निर्वाचित सरकार हटाएर सडकबाट सत्ता ल्याउन माओवादी तम्सिएको थियो । तर, एमाले र युथफोर्सको प्रतिकारले उक्त आन्दोलन लामो समय चल्न सकेन ।
२०६६ वैशाख १९ देखि सुरु माओवादी आन्दोलन भएको थियो । एक हप्तामै माओवादीले आन्दोलन फिर्ता लियो । माधव नेपालको सरकार थप २२ महिनासम्म चलेको थियो । सोही बेला प्रचण्डले आमसभालाई सम्बोधन गर्दै नेता नेपाललाई ‘विष वृक्ष’ भनेका थिए । यस प्रकरणपछि पनि ओलीले नेता नेपाललाई ठूलो सहयोग गरेका थिए । तर, प्रचण्डसँग गोप्य ७ बुँदे सहमति गरी ६ महिना मात्र प्रधानमन्त्री टिकेका खनाल सरकारको भने सधैं आलोचना गर्न ओली सक्रिय भएका थिए । ‘माओवादी हिंसाको बाटोमा थियो, लोकतान्त्रिक चरित्र थिएन । सही बाटोमा ल्याउनुपर्छ भन्ने मान्यतामा उहाँ (ओली) लाग्नुभएको थियो । अहिलेसम्म पनि सही बाटोमा नै लाग्न खोज्दा प्रचण्डले चेप्न खोजेपछि यस्तो अवस्था आयो’, उनी निकट एक नेता भन्छन् ।