काठमाडौं । एउटा बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवाले भनेछन्,‘कांग्रेस मैले चलाउने हो की भारतले ? सभापति कांग्रेसले छान्ने हो की भारतले ? म लड्छु जोसुकै होस् ।’
आसन्न १४ औं महाधिवेशनमा सभापतिका लागि विभिन्न नेताको उम्मेदवारीको दाबेदारीकाबीच देउवा फेरि पनि दोहोरिन चहान्छन् । उनलाई उक्त पदमा टिकाइराख्नका लागि उपसभापति बिमलेन्द्र निधिको अनिवार्य साथ रहनुपर्ने थियो। तर, निधि आफैं सभापतिमा लड्ने जोडबल गरिरहेका बेला देउवाले भनेका छन्,‘लड्न पाउने अधिकार हो, लड्नुहोस्। म पनि उठ्छु ।’
खासमा कांग्रेसभित्र जम्मा दुई धार थियो, १३ औं महाधिवेशनका बेला। दोस्रो चरणमा कृष्णप्रसाद सिटौलाले देउवालाई सहयोग गरेपछि रामचन्द्र पौडेल पक्ष बाँकी रहेको थियो । तर, यस पटक भने सभापतिमा देउवा र निधि मात्र होइन, शेखर कोइराला, सिटौला र सुजाता कोइराला पनि अगाडि सर्ने भएका छन् ।
सभापतिका लागि प्रकाशमान सिंहले पनि घोषणा गरेका छन्। खासमा धेरै जना उम्मेदवारलाई अगाडि सर्न लगाएर भारतीय संस्थापन कांग्रेसमा देउवाको विकल्प जिताउने कोशिश गरिरेको छ। ‘भारतीय पक्षसँग नजिक रहेका शेखरलाई जिताउनका लागि यी खेल भइरहेका छन्। निधि पनि सोही रणनीतिको भूमरीमा दाबी गरिरहेका हुन्’, उच्च स्रोतले भन्यो ।
भारतीय चाहनाअनुसार नेपालका कम्युनिस्ट विभाजनका निम्ति देउवाले सहयोग नगरेको र हाल विपक्षी गठबन्धनमा लागि सरकारलाई सहज नबनाएका कारण सभापतिमा पराजित गरी अनुकूल नेता जिताउने तयारी भएको हो ।
स्रोतले भन्यो,‘नेपालका हरेक राजनीतिक पार्टीभित्र, त्यसको नेतृत्वलाई चलाउन सक्नेगरी भारतीय पक्ष सक्रिय भएको छ । एमालेमा ओली, जसपामा महन्थ ठाकुर चलाइरहेको उसले कांग्रेसमा शेखरलाई अगाडि बढाउन खोजिरहेको छ ।’
यहि कारण पनि अहिले कांग्रेसको महाधिवेशन प्रभावित हुने अवस्थामा रहेको छ । भारतीय संस्थापनले नेपालमा हिन्दूत्वलाई प्राथमिकतामा राख्न सुझाव दिएकै कारण कांग्रेसभित्र अहिले हिन्दूत्वको मुद्दा पनि महासमिति हुँदै महाधिवेशनमा प्रवेश गर्न लागेको छ। उक्त मुद्दाका लागि शंकर भण्डारी खुलेर लागेका छन् भने महामन्त्री शशांक कोइराला पनि बोलिरहेका छन् ।