काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १७ गतेदेखि आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पूँजी रू. १२ करोड ११ लाख ५० हजारको ३२ दशमलव ११ प्रतिशतले हुन आउने रू. ३ करोड ८९ लाख बराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । यसमध्ये ६ हजार ५८ कित्ता अर्थात् जारी पूँजीको शून्य दशमलव ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्कासनको ५ प्रतिशत अर्थात् १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको कम्पनीले जानकारी दिएको छ । सर्वसाधारणले बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका लागि आवेदन दिन सक्ने भएका छन् ।
आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन बन्द मिति छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गते रहेको छ ।
कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर डबल बि माइनस’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङ प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरोशेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।