काठमाडौँ l आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ निष्काशनका लागि ‘केयर एनपी ट्रिपल बि’रेटिङ्ग प्राप्त गरेको छ।
रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी भन्ने जनाउँदछ।
कम्पनीले रु. ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनकालागि रेटिङ्ग गराएको हो। रेटिङ्ग एजेन्सीको रिपोर्ट प्राप्त भएसँगै अब कम्पनीको प्राथमिक शेयर निष्काशनको प्रक्रिया अघि बढ्नेछ।
कम्पनीले १२० वटा शाखा कार्यलयबाट बिमीतहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ। साथै कम्पनीमा १८ हजारभन्दा धेरै अभिकर्ताहरु आवद्ध रहेका छन्।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चार वर्ष अगाडि जीवन बीमा व्यवसाय गर्नका लागि लाइसेन्स प्राप्त गरेको थियो। कम्पनीमा ग्लोबल आइएमई बैक, आइएमई ग्रुप लगायत ठूला प्रतिष्ठित व्यवसायिक समूहहरुको लगानी रहेको छ।
हाल कम्पनीको चुक्तापूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ। प्राथमिक शेयर निष्काशनपछि कम्पनीको चुक्तापूँजी २ अर्ब रुपैयाँ पुग्नेछ।
प्राथमिक शेयर निष्काश पछि संस्थापक शेयरधनीहरुको हिस्सा ७० प्रतिशत र सर्वसाधारणको शेयर हिस्सा ३० प्रतिशत हुनेछ।