काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिको दौडलाई फेरि पनि जीतमा बदल्ने शेरबहादुर देउवाको सपना तुसारापात गर्ने बाटोमा उनीनिकट मानिने उपसभापति विमलेन्द्र निधि बढेका छन् ।
उनले सभापतिमा आफू निर्विकल्प उम्मेदवार रहने घोषणा गरिसकेका छन् भने देउवाले साथ नदिए उनीसँगै भिड्ने चेतावनी पनि दिएका छन्। यसबाहेक देउवालाई जीतमा रोक्नका लागि सभापपतिका आकांक्षी दोस्रो पुस्ताका नेतासँग निधिको वार्ता सुरु भएको छ ।
सोमबारमात्र उनले कांग्रेसका हस्तक्षेपकारी नेता प्रकाशमानसिंह र डा. शशांक कोइरालालाई निवासमा बोलाएर लञ्च मिटिङ गरेका छन्। जहाँ सभापतिमा आफूलाई सघाउन र नयाँ सहमतिका साथ अघि बढ्नका लागि प्रस्ताव गरेका छन् ।
यसबाहेक देउवाको कांग्रेस नेतृत्वमा बस्ने मोहलाई पराजित गर्नुपर्ने प्रस्ताव पनि निधिले गरेका थिए। स्रोतका अनुसार निधिको यो चलखेलले देउवालाई आगामी महाधिवेशनमा जीत निकाल्नलाई कठिन हुन सक्छ ।
आफूलाई महाधिवेशनमा सभापति शेरबहादुर देउवाको सहयोग रहने विश्वास लिएका उनले कुनै पनि हालतमा नछाड्ने बताइसकेका छन्। उनले सहमतिका आधारमा महाधिवेशनबाट अर्को पुस्तालाई नेतृत्व दिन तयार भए सभापतिका आकांक्षीले सहमतिको मार्ग खोज्ने पनि बताएका छन्। तर, देउवासँगै रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई स्वीकार गर्न नसकिने निधिको भनाई छ ।
निधि सभापतिको रेशमा निस्किएपछि देउवाका लागि फलामको च्युरा चपाउनु सरह हुने विश्लेषण गरिएको छ। पार्टी विभाजनदेखि हालसम्म पनि देउवाका असली सहयोगी रहेका निधिले साथ छाडेको खण्डमा उक्त समूहको आधा भन्दा धेरै नेता समूहमा नरहने बताइन्छ ।
यसबाहेक देउवा समूह मात्र कांग्रेसमा बलियो छ भन्ने भ्रम पनि चिरिएको निधिले बताएका छन्। उनले सभापतिमा जित्नका लागि सबै पक्षका नेतासँगको सहकार्य र सहमति हुनुपर्ने बताएका छन्। त्यहाँमाथि निधिको साथ नै नरहने भएपछि देउवालाई महाधिवेशनको दौडमा उभिन कठिन हुनेछ।
निधिले अन्तर्राष्ट्रिय सम्बन्ध मात्र नभएर दुई नम्बर प्रदेशको राजनीतिलाई पनि देउवाको सहयोगी बनाएका थिए। अब, महाधिवेशनमा उक्त उपयोग आफ्ना लागि नै गर्ने तयारीमा निधि छन्। भदौमा हुने महाधिवेशनमा देउवाको चाहना फिर्ता नभए जीत पनि कठिन रहेको बताइन्छ ।