काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले सीमा सुरक्षामा जोखिम मोलेर बसेका सशस्त्र प्रहरीका सिपाहीलाई सर्पले टोक्ने वातावरण बन्न दिन नहुने बताएका छन् ।
सोमबार एउटा अनौपचारिक कुराकानीका क्रममा सशस्त्र प्रहरीका बोर्ड आउट पोस्ट (बीओपी)का अवस्था नाजुक रहेको र अझ १२० थप्दा पूर्वाधारको विषयमा पत्रकारले जानकारी गराएपछि उनले भने,‘म उनीहरूको विषयमा नै चिन्तित हुन्छु । मेरोमा पनि सुरक्षामा खटिएकालाई उनीहरुको अवस्था सोध्न गरेको छु । जसले माटोलाई सीमालाई जोगाएको छ, उसलाई सर्पले पनि टोक्नु पाउन हुन्न, पहल गर्छु।’
सीमा सुरक्षामा सशस्त्र प्रहरीका सिपाहीको अतुलनिय योगदान रहेको बताएका उनले सुधारका लागि आफूले पहल गर्ने बताउँदै भने,‘उनीहरूलाई सर्पले टोक्यो र म यहाँ सुरक्षित बस्नुको कुनै अर्थ हुन्छ ? उसले माटो जोगाएको छ र हामी राजनीति गरिरहेका छौं ।’
भारत र चीनसँगका सीमाका विषयमा नेपाल चुस्त र कुटनीतिक रुपमा चलाख भएर नै बस्नुपर्ने बताएका उनले भने,‘सीमा रहे हाम्रो राजनीतिक रहन्छ, व्यवस्था रहला। देश रह्यो भने आन्तरिक विषयमा त लडौंला नि, देशको सीमाका विषयमा सरकार वा प्रतिपक्ष वा कोही भनेर विवाद गर्ने विषय होइन ।’
उनले दुई वटा सुरक्षा बैठकमा बसेको बताउँदै चुनाव जहिले पनि भएका कारणले मन्त्रालय त्यसको सुरक्षाका विषयमा गम्भीर भएर लागि परेको बताए । उनले अहिले नागरिकको पहिलो प्राथमिकता कोभिडविरुद्धको खोप र दोस्रोचाहिँ चुनाव नै हुने भएकाले मन्त्रालय त्यसमा केन्द्रित हुने बताए ।
उनले भने,‘सदन पुनःस्थापना नभए पनि चुनाव हुन्छ। भए पनि चुनावमा नै देश जाने भएकाले त्यसको तयारी हुनेछ । जस्तो अवस्था आए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा सरकार नबने स्थिति छ ।’