शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

ओलीतिरै नजिकिए बामदेव गौतम, यसरी मिल्यो चाँजोपाँजो

सोमबार, जेष्ठ ३१ २०७८

काठमाडौं ।  एमालेभित्रको आन्तरिक विवादमा अलग रहेका उपाध्यक्ष बामदेव गौतम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीतिर नजिकिएका छन् ।  
नेता माधवकुमार नेपाल पक्षका बहुमत नेता ओलीसँग सहमति गरी अघि बढ्नुपर्ने धारणा राखेर अघि बढेपछि गौतम पनि संस्थापनकै निर्णयमा उभिने भएका हुन्। अझ २ असारमा पुरानै स्थायी कमिटीको बैठक डाकिएको र गौतमसहितलाई निम्तो दिएपछि उनी समस्या समाधान हुनेमा ढुक्क छन् । 

एमालेभित्र विकसित राजनीतिक घटनाक्रम र मुलुकको अवस्थाको विषयमा गौतमलाई उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी गराएका थिए। गौतमको घरमा लन्चसहित बैठकका लागि पुगेका पौडेलले आगामी नेतृत्वका विषयमा पनि गौतमलाई ओलीको राय सुनाएका थिए ।  
नेता नेपाल प्रतिपक्षी गठबन्धनतिर रहे पनि उनी पक्षीय प्रभावशाली स्थायी कमिटी सदस्यहरु भने एमाले मिलाउनेतिर सक्रिय रहेका छन् ।  एमाले मिले मात्र राजनीतिक जीवन सबैको सुरक्षित हुने भएपछि घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतका नेता सक्रिय छन् । 

नेता नेपालले ओलीको राजीनामा आए मात्र सहमति हुन सक्ने बताएको विषयमा गौतम खुसी छैनन् ।  कुनै एक पद छाड्न सके पनि सबै पदबाट राजीनामा माग्नु अस्वभाविक हुने गौतमको राय थियो ।  
‘नेकपा रहँदा पनि कुनै एक पद मात्र छाड्नका लागि भनिएको थियो ।  अहिले आएर दुवै पद छाड भन्न त मिल्दैन तर ओलीजीले प्रतिनिधि सभा विघटन गरेको विषयमा माफीचाहिँ माग्नुपर्छ’, गौतमले पौडेललाई भनेको स्रोतको दाबी छ । 
२०७५, जेठ २ गतेकै अवस्थामा स्थायी कमिटीको बैठक बोलाइसकेका कारण सोही ठाउँमा सबै कुरा गर्न सकिने चाँजोपाँजो पनि मिलाइएको छ । गौतम एमाले एकताको अभियानमा लागेका थिए ।