शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

युरोकपः स्विजरल्याण्ड र वेल्स भिड्दै

शनिबार, जेष्ठ २९ २०७८

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (शनिबार) हुने पहिलो खेलमा वेल्स र स्विजरल्याण्ड प्रतिस्पर्धा गर्दैछन् ।

अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा प्रतिस्पर्धा गर्दै वेल्स र स्विजरल्याण्डले युरोकपको सुरुवात गर्ने छन् । दुई टिमबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

समूह ‘ए’ मा रहेका दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुनेछ ।

यस समूहको इटालीले विजयी सुरुवात गरिसकेको छ । उद्घाटन खेलमा इटालीले टर्कीलाई ३-० ले हराएको थियो ।

वेल्स र स्विजरल्याण्डबीच अहिलेसम्म ७ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा स्विजरल्याण्ड बलियो देखिएको छ ।

स्विजरल्याण्डले पाँच खेल जितेको छ भने वेल्सले २ खेल मात्र जितेको छ ।

suizerland.JPG

तर, फरवार्ड ग्यारेथ बेलको कप्तानीमा मैदान उत्रने वेल्स यस पटक खराब नतिजाको इतिहासलाई बिर्साउने योजनामा रहेको छ  ।  कप्तान वेल पनि यस प्रतियोगिता सम्झनलायक बनाउन चाहन्छ ।  

‘कप्तानको आर्मब्यान्ड लगाउन ठूलो सम्मान हो,’ बेलले भने, ‘प्रमुख प्रतियोगितामा टिमको नेतृत्व गर्नु मेरो करियरको मुख्य हाईलाइट हो ।’

बेल वेल्सको सर्वाधिक गोलकर्ता हुन् । उनले ९२ खेलमा ३३ गोल गरिसकेका छन् ।

स्विजरल्याण्डविरुद्ध मैदान उत्रदा वेल्सलाई चोटले सताउने छैन । वेल्सका सबै खेलाडी फिट रहेका छन् ।

वेल्सका मुख्य प्रशिक्षक रोबर्ट पेजले  खेलाडी पुर्णरुपमा फिट र खेलका लागि तयार भएको बताउछन् ।

स्विजरल्याण्ड ग्रानिट जाकाको कप्तानीमा मैदान उत्रने छ ।  स्विजरल्याण्डको टिम समेत पूर्ण फिट रहेकोछ ।

वेल्सविरुद्ध मैदान उत्रदा स्विजरल्याण्ड पुर्णरुपमा हाबी हुने योजनामा रहेको छ ।

स्विजरल्याण्डका मुख्य प्रशिक्षक भ्लादमिर पेट्कोभिच बलियो टिमविरुद्ध जितकै लागि मैदान उत्रने बताउछन् ।

‘वेल्स एक कठिन टिम हो । उनीहरु मैदानमा बलियो छन् । तर, हामी खेलमा हाबी हुन चाहन्छौ । त्यसका लागि हामी केन्द्रित छौँ,’ उनले भने ।