काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरले एकअर्कालाई पार्टीबाट निष्कासन गर्दै कारवाही गरेको पत्र निर्वाचन आयोगले खारेज गरेको छ।
संसद्मा चौथो दलको रूपमा स्थापित भएको मधेश केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरले एकअर्कालाई कारवाही गरी आ–आफ्नो बाटोमा लाग्न तयाररहेका यादव र ठाकुर आयोगको निर्णयले अलपत्र परेका छन् l
आयोगले अध्यक्ष ठाकुरसँग केन्द्रीय समितिको निर्णयको प्रतिलिपि माग्ने निर्णय गर्दै पत्र पठाएको छ । अध्यक्ष ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई दिँदै पार्टी दर्ता किताबबाट उपेन्द्र यादवको नाम हटाउन आग्रह गरेका थिए ।
निर्वाचन आयोगले केन्द्रीय समितिमा भएको निर्णयको हस्ताक्षरसहित प्रतिलिपि राजनीतिक दल दर्ता सम्बन्धी उपनियमावलीको अनुसूची १८ को ढाँचा अनुसार प्रस्तुत गर्न अध्यक्ष ठाकुरलाई पत्र पठाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।
यादवलाई राजनीतिक दल सम्बन्धी नियमावली २०७४ अनुसूची १८ बमोजिमको हेरफेर गर्न नियम २५ बमोजिमको प्रक्रिया पुरा गरेर आउन भनिएको छ भने ठाकुरलाई त्यसका साथै केन्द्रीय सदस्यको हस्ताक्षरसमेत समावेश गर्न भनिएको छ।
पार्टीमा मतभेद बढ्दै जाँदा जसपामा एकले अर्कोलाई निष्कासन गर्ने होडबाजी नै चलेको छ। यादवले सोमबार ठाकुरसहित नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ सुक्ललाई पार्टीको साधरण सदस्यसमेत नरहने गरी निष्कासन गरेर आयोगलाई जानकारी गराएका थिए।
लगत्तै ठाकुरले पनि यादवलाई निष्कासन गरेर आयोगमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम दलको विवरण अध्यावधिक गर्न पत्र पठाएका थिए।