काठमाडौं । सभापति शेरबहादुर देउवालाई ७६(५) अनुसारको प्रधानमन्त्री नियुक्तिको परमादेशसहित सोमबार सर्वोच्चमा रिट हाल्न लागेको विपक्षी गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले चुनावको विकल्पलाई पनि साथमा राखेको छ ।
रिटमा सुनुवाई गरी माग गरेअनुसार सर्वोच्चको फैसला नआए र सभापति देउवा प्रधानमन्त्री हुने अवस्था सृजना नभई मुलुक चुनावतिर नै गए कांग्रेस नपन्छिने त्यसका नेताहरूले बताएका छन् ।
कांग्रेसका प्रभावशाली मानिएका नेता डा. शेखर कोइरालाले भनेका छन्,‘यो चुनाव हुन्छ र त्यस्तो परिवेश बनेको खण्डमा हामी चुनावबाट भाग्ने छैनौं । सर्वोच्चको फैसला प्रतिकूल बनिदियो भने लोकतान्त्रिक पार्टीले चुनावलाई बहिस्कार गर्न सक्तैन, तयारीमा लाग्छौं ।’
अहिलेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको चुनाव हुने या नहुने भन्ने दुविधा कायम रहेको उल्लेख गरेका उनले पहिलो शर्त र पर्खाइ सर्वोच्च अदालतले रिटमा कस्तो सुनुवाई गरी आदेश दिन्छ भन्ने नै रहेको प्रष्ट पारेका छन्। तर, ओलीले घोषणा गरेको चुनाव कम्बोडियाका हुन सेनले गराए जस्तो भयो भनेचाहिँ प्रतिवाद हुन सक्ने उनको आँकलन छ।
‘लोकतान्त्रिक चरित्र, बहुदलीय स्पर्धामा विश्वास गर्ने कांग्रेस चुनावसँग डराउँदैन। हामी सभापतिलाई प्रधानमन्त्री बनाउने भन्दा पनि सांसद शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने विषयमा राष्ट्रपतिले गरेको त्रुटी सच्चियोस् भन्नेमा छौं’, उनी भन्छन्,‘यदि अदालतबाट त्यस्तो फैसला आएन भने, राष्ट्रपतिले गरेको निर्णय उल्टिएन भने हामी चुनावमा जान्छौं ।’
फैसला नउल्टिए कांग्रेससँगै रहेका माओवादी केन्द्र, एमाले माधव नेपाल समूह र जसपा उपेन्द्र यादव समूह आन्दोलनमा जाने तयारीमा छन्। तर, कांग्रेसले आन्दोलनको विकल्प नरोज्ने कोइरालाको भनाईले स्पष्ट पारेको छ ।