काठमाडौं । भोलि मंगलबार नेपाल राष्ट्र बैकले १५ अर्ब रुपैयाँको बिकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार पाँच बर्षे अवधिको बिकास ऋणपत्र २०८३ “घ” बिक्री गर्न लागिएको हो ।
बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले ऋणपत्र खरिदको लागि भोलि अपरान्ह तीन बजेसम्म बोलपत्र पेस गर्नुपर्ने छ । निष्काशन मिती २०७८ जेठ १३ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी अवधि २०८३ जेठ १३ रहेको छ । धितो राखेर कर्जा लिन र दिन समेत पाईने उक्त ऋणपत्रमा अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुुने र आर्जित व्याजदरमा व्याजकर समेत लाग्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार बिक्री गरिने कुुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् १२ अर्ब ७५ करोड र दुई अर्ब २५ करोड छुट्ट्याइएको छ । खरीद गर्न पाउने सीमा निम्नतम ५० हजार र अधिकतममा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने छ । राष्ट्र बैकका अनुसार ऋणपत्र खरीदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । खरिद गरिएको ऋणपत्रको दोस्रो बजार कारोवार नेपाल स्टक एक्सचेन्ज मार्फत हुने छ ।