काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसँगको जारी वार्ता अन्त्य गर्ने मुड बनाएका छन्।
विहीबार भएको स्थायी कमिटीको बैठकमा एमालेका उम्मेदवार रामबहादुर थापा बादलमाथि मत नदिने घात भएको सूचना आएको भन्दै एमाले एकताको नाममा लत्रिन नहुने ओलीको मनसाय थियो।
कतिपय स्थायी कमिटी सदस्यले कार्यदल बनेर वार्ता जारी रहेका बेला एमालेको निर्णयलाई नमान्नु पार्टीभित्रको बफादारिता नरहेको र शंका स्वभाविक बनाएको बताएका थिए।
प्रवक्ता प्रदिप ज्ञवालीले कार्यदलमा अब निर्णायक कुराकानी हुने र पार्टीविरोधी गतिविधि जारी रहेको खण्डमा वार्ता गर्ने कि नगर्ने भन्ने विषयमा पनि कुरा भएको बताए।
एमालेको समस्या समाधानका लागि १० सदस्यीय कार्यदल बनाइएको थियो। ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा प्रदिप ज्ञवाली, विष्णु पौडेल, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन्।
कार्यदलले यसबीचमा व्यापकताका साथ छलफल र प्रतिवेदन पनि बनाउन नसकेको तथा राष्ट्रिय सभा चुनाव छल्न र धोका दिनका लागि रावलले नै बैठकमा तिव्रता नदिएको विश्लेषण ओली पक्षको छ।
एक नेता भन्छन्,‘यसरी धोका पाउने र मनपरी गर्ने हो भने सहमतिका नाममा वार्ता जारी राख्नु उचित हुनेछैन। प्रधानमन्त्री पनि यो कुरामा कन्भिन्स हुनुहुन्छ।’
ओली पक्षले अन्तिम मौकाका रुपमा कार्यदलको बैठक चाहेको छ। यो बैठकले नै नेपाल पक्षसँगको सहकार्यले निरन्तरता पाउँछ या पाउँदैन भन्ने विषयको टुंगो लगाउने एक नेताले बताए।