काठमाडौं । कोरोना बिमाका लागि अहिलेसम्म करिब ९१ हजार ८ सय ५९ वटा दाबी परेका छन् । तर, यि दाबी मध्ये कैयनले रकम कहिले पाउँछन् भन्ने अहिलेसम्म टुंगो छैन ।
बिमा कम्पनीहरु आफुले दिनसक्ने रकम यसअघिका दाबीमा भुक्तान गरेका छन् । त्यसबाहेकको बिमा समिति र पुनर्बिमा कम्पनीको रकम पनि भुक्तान भएको छ । सरकारले रकम कहिले यि कम्पनीहरुलाई दिन्छ भन्ने टुंगो छैन । जसका कारण बाँकि रहेका दाबीको भुक्तानी यो समयमा नै हुन्छ भनेर किटान गर्न सक्ने अवस्था छैन ।
साथै दाबी परेका फाइलमध्ये ७ हजार ८ सय १६ वटा फाइलहरु इपिडियोमिलोजी तथा रोग नियन्त्रण महासाखामा तथ्यांक नमिलेका कारण स्वीकृत नभइ बसेका छन् । ७ सय ६० वटा भने स्वीकृतिको चरणमा रहेका छन् ।
त्यस्तै पाँच सय ४४ वटा दाबीमा उमेर र नाम नमिलेर स्वीकृत हुन सकेको छैन । १ हजार ८८ वटा दाबी भने कम्पनीबाट स्वीकृत भएर अब इपिडियोमिलोजी तथा रोग नियन्त्रण महासाखामा जाने चरणमा रहेका छन् ।
२ हजार २ सय ३८ वटा दाबी भने कागजात नपुगेका कारण कम्पनीमा नै फिर्ता भइसकेका छन् ।
अर्थमन्त्रालयले दिनुपर्ने यस्तो रकमको लागि अहिलेसम्म कुनै प्रक्रियाँ नै अघि बढेको छैन । बिमा समितिले अर्थमन्त्रालयमा पत्र पठाएको भने डेढ महिनाभन्दा बढि भइसकेको छ ।
कागजात पुरा भएका ७७ हजार १ सय ३ मध्ये अहिलेसम्म ५६ हजार ७ सय ९८ वटा भुक्तान भइसकेको छ । जसको भुक्तानका क्रममा ५ अर्ब ४८ करोड ५८ लाख ५० हजार रकम भुक्तान भइसकेको छ ।
यो रकम मध्ये कम्पनीहरुले १ अर्ब, १ अर्ब पुनर्बिमा कम्पनी र १ अर्ब बिमा समितिले भुक्तान गरेको छ भने ५० करोड रकम बिमा कम्पनीहरुको जोखिम व्यवस्थापनबाट भुक्तान गरेको रकम हो ।