भैरहवा — स्थानीय प्रशासनको सहजीकरणमा शुक्रबार भारतबाट भैरहवा नाका हुँदै ५ सय सिलिण्डर लिक्विड अक्सिजन नेपाल आइपुगेको छ । यो अक्सिजन रुपन्देहीका अस्पतालमा उपचाररत कोभिडका बिरामीका लागि उपलब्ध गराइने छ ।
कोभिड संक्रमित बिरामी बढेपछि रुपन्देहीमा उत्पादनभन्दा माग अत्यधिक हुँदा अक्सिजनको हाहाकार छ । कतिपय बिरामीले अक्सिजनको अभावले ज्यान गुमाइसकेका छन् ।
ल्यान्ड इण्डिया लिमिटेड झारखण्डबाट शंकर अक्सिजन ग्यास प्रालि काठमाडौंबाट अक्सिजन आयात गरिएको हो । माहामारीको बेला अक्सिजनको अभाव हुन नदिन सरकारले यतिबेला अक्सिजनको आयातमा भन्सार छुट दिएको छ ।
एनएल ०१ एल ४६९८ नम्बरको ट्यांकरबाट भित्रिएको उक्त अक्सिजन शंकर ग्यास अक्सिजन प्रालिको रुपन्देही छिपागढस्थित प्लान्टबाट सिलिण्डरमा भरिने छ । शंकरको काठमाडौं, नारायणघाट र रुपन्देहीमा लिक्विड अक्सिजन सिलिण्डरमा भर्ने प्रविधि सहितको अक्सिजन प्लान्ट सञ्चालनमा छन् ।
शंकरका सञ्चालक शंकरलाल अग्रवालले अक्सिजन ढुवानी गर्ने ट्यांकको अभावले चाहेको परिमाणमा भारतबाट अक्सिजन आयात गर्न नसकिएको बताए । यतिबेला आफूसँग दुईवटा मात्र ट्यांक रहेको र ढुवानीका लागि अन्य ट्यांकको व्यवस्था मिलाउन नेपाल सरकार, राजदूतावास र अन्य उद्यमी व्यवसायी समेत जुटेको बताए ।
‘भारतमा पहिला भाडामा पनि ट्यांक पाइन्थ्यो, अहिले पाइँदैन’ अग्रवालले भने, ‘ट्यांक उपलब्ध हुने हो भने अक्सिजन जतिपनि आयात गर्न सकिन्छ ।’ उनले भारतबाट लिक्विड अक्सिजन आयात गर्ने क्रम सुरु भएको जनाउँदै ट्यांक खाली हुनासाथ आयातका लागि भारतमा पठाउने बताए ।
अग्रवालका अनुसार ट्यांकबाट सिलिण्डरमा अक्सिजन भर्न करिब ५ घण्टा समय लाग्ने गर्छ । यस अवधिमा अर्को प्रबिधिबाट अक्सिजन उत्पादन गर्नमा कुनै बाधा हुँदैन । छिपागढमा रहेको उक्त अक्सिजन प्लान्टले दैनिक ६ सय सिलिण्डरसम्म उत्पादन गर्दै आएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले भारतबाट उक्त लिक्विड अक्सिजन भैरहवा नाकासम्म सहज रुपमा आउने वातावरण मिलाउनका लागि सिमावर्ती भारतीय समकक्षीसँग समन्वय गरेको बताए । यसभन्दा पहिला भारतमै कोभिड संक्रमित बिरामीको लागि कमि भएको भन्दै लिक्विड अक्सिजन नेपालमा लैजान भारतीय पक्षबाट रोकिएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ l