शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

३ महिना अघि १ खर्ब २४ अर्ब रहेको देशको सोधनान्तर स्थिती  ४२ अर्बमा झर्याे  

बिहिबार, बैशाख ३० २०७८

काठमाडौं । आयात बढ्दै गएपछि देशको सोधनान्तर स्थिती घट्दै गएको छ  । देशमा आउने विदेशी मुद्राको तुलनामा यहाँबाट बाहिरिने रकम बढि भएसँगै सोधानान्तर स्थिती घट्दै गएको हो ।

नेपाल राष्ट्र बैंकले बुधबार प्रकाशन गरेको देशको वित्तीय स्थिती सम्वन्धि ९ महिनाको प्रतिबेदनमा  गत  पुष मसान्तसम्ममा  १ खर्ब २४ अर्बले बचतमा रहेको सोधनान्तर स्थिती अहिले ४२ अर्ब २४ करोडले बचतमा रहेको  उल्लेख गरेको छ । यद्यपि यो रकम गत वर्षको यहि समयको तुलनामा भने भने बढि हो । किनभने गत वर्षको चैत मसान्तमा यस्तो रकम ३४ करोड ८१ लाखले बचमा रहेको थियो ।

बस्तु आयातका लागि बाहिरिने रकम बढ्दो  छ । तर  निर्यात तथा पर्यटन बापतको आयसँगै  बैदेशिक लगानीमा कमि आएको छ, जसका कारण सोधनान्तर स्थिती घट्दै गएको हो । वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई ११ खर्ब ११ अर्ब ४० करोड पुगेको छ । यता निर्यात भने यहि समयमा ९४ अर्ब ७७ करोडको मात्रै भएको छ ।

खुद सेवा आय ४९ अर्ब १३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १ अर्ब ८ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत चैत सम्ममा भ्रमण आय ९०.२ प्रतिशतले कमी आई  ५ अर्ब ५४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५६ अर्ब ६८ करोड रहेको थियो ।

सेवा खाता अन्तर्गत  चैतसम्ममा भ्रमण व्यय ४७.० प्रतिशतले कमी आई २६ अर्ब ७५ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्पmको व्यय २१ अर्ब ७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५० अर्ब ४७ करोड रहेकोमा शिक्षातर्फको व्यय २४ अर्ब ६० करोड रहेको थियो ।

पर्यटन क्षेत्रबाट प्राप्त हुने आय ९०.२ प्रतिशतले कमी आई ५ अर्ब ५४ करोड कायम भएको छ ।  जबकी अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५६ अर्ब ६८ करोड रहेको  भएको थियो  । 

यसैबिचमा प्रत्यक्ष वैदेशिक लगानी २५.० प्रतिशतले कमी आई १२ अर्ब ३५ करोड कायम भएको छ । जबकी गत वर्ष यस्तो लगानी १६ अर्ब ४८ करोड रहेको थियो । यद्यपि महामारीकै बिचमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई ७ खर्ब २९ अर्ब २ करोड पुगेको छ , जसले सोधनान्तर स्थिती घाटामा  जान अहिलेसम्म थेगेको छ ।

अघिल्लो वर्षको चैत मसान्तसम्म विप्रेषण आप्रवाह ४.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भई ६ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ४.९ प्रतिशतले घटेको थियो ।

जबकी चैतसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या भने  ६६.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५५.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १५.० प्रतिशतले घटेको थियो ।