काठमाडौं l हाल नेपालमा मौज्दात अक्सिजन र सिलिन्डरले नपुग्ने तथा भयावह स्थिति आउने भएकाले अक्सिजन अभाव अन्तय गर्न नेपाल सरकारले दुई ट्यांकर अक्सिजन भारतबाट निर्यात गर्ने भएको छ l
भारतले अक्सिजन निर्यातमा लगाएको प्रतिबन्ध बिहीबार फुकुवा गरेको छ । यससँगै दुई ट्यांकरमा ३० टन लिक्विड अक्सिजन शनिबारसम्म नेपाल आउँदै छ । यसले करिब एक लाख ८० हजार सिलिन्डिरमा अक्सिजन भर्न पुग्ने अनुमान छ ।
भारतले त्यहाँको सर्वोच्च अदालतको आदेशअनुसार चैत पहिलो साताबाट अक्सिजन निर्यातमा रोक लगाएको थियो । नेपालमा मौज्दात अक्सिजन र सिलिन्डरले नपुग्ने तथा भयावह स्थिति आउने भन्दै नेपाली अधिकारीले निर्णयमा पुनर्विचार गरिदिन भारतलाई आग्रह गर्दै आएका थिए । नेपालको निरन्तरको आग्रहपछि भारतले स्वास्थ्य प्रयोजनका लागि अक्सिजन आपूर्ति खुला गर्ने निर्णय गरेको हो ।
भारतीय गृह मन्त्रालयले बिहीबार सबै प्रदेश तथा डिस्ट्रिक मजिस्ट्रेट कार्यालयलाई परिपत्र गर्दै नेपालमा अक्सिजनको आपूर्ति सुरु गर्न निर्देशन दिएको छ । नेपालमा भारतको झारखण्ड जम्सेदपुरस्थित लिन्ड इन्डियाबाट मासिक एक सय ५० टन अक्सिजन आउने गरेको छ । शंकर अक्सिजन ग्यास प्रालिले आपूर्ति गर्दै आएको छ ।
‘भारत सरकारले नेपालमा अक्सिजन लैजानका लागि मार्गप्रशस्त गरेको छ । आफ्नै प्रतिकूलताका बाबजुत पनि नेपाललाई गरेको यो सहयोगप्रति नेपाल सरकार आभारी छ,’ दिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले भने, ‘अब हामीलाई चाहिने अक्सिजन झारखण्डबाट निर्वाध रूपमा लैजान मार्गप्रशस्त भएको छ । अब नेपालमा अक्सिजनको आपूर्ति निरन्तर हुन्छ ।’
भारतको सर्वोच्च अदालतको आदेशको हवाला दिँदै झारखण्डको जम्सेदपुर र उत्तरप्रदेशको महाराजगन्जका प्रमुख जिल्ला अधिकारीहरूले नेपालबाट अक्सिजन लिन गएका गाडी रोकेका थिए । दिल्लीस्थित नेपाली दूतावासका अधिकारीसँगको कुराकानीमा उनीहरूले केन्द्र सरकारको आदेश आए ग्यास आपूर्ति नरोक्ने जवाफ दिएका थिए ।
लिक्विड अक्सिजन लिन नेपालबाट गएका दुईवटा ट्यांकर एक सातादेखि जम्सेदपुरमै थिए । ती ट्यांकर ३० टन अक्सिजन भरेर शनिबारसम्म नेपाल आइपुग्ने शंकर ग्यासका सञ्चालक शंकर अग्रवालले बताए । यी दुई ट्यांकर आएलगत्तै खाली दुई ट्यांकर झारखण्ड पठाउने गरी तयारी अवस्थामा राखिएका छन् । एक साताभित्र कम्तीमा ६० टन अक्सिजन भारतबाट नेपाल आउने अग्रवालको भनाइ छ ।
दिल्लीस्थित नेपाली दूतावासले १० वैशाखमा भारतीय विदेश मन्त्रालयलाई चिठी लेख्दै अक्सिजन तथा अत्यावश्यक औषधि निर्यातमा लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेको थियो । दूतावासले विदेश मन्त्रालय, गृह मन्त्रालय, उत्तरप्रदेश तथा झारखण्डका मुख्यमन्त्री कार्यालयमा पनि निरन्तर ताकेता गरेको थियो । बिहीबार बिहान मन्त्री अमित साहको निर्देशनमा गृह मन्त्रालयले नेपालमा अक्सिजन लैजान नरोक्न परिपत्र गरेको जानकारी नेपाली दूतावासले पाएको थियो ।
त्यसका लागि गृहमन्त्री साहका स्वकीय सचिवसमेत रहेका अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप रानाले पनि सहजीकरण गरेका थिए । रानाले भने, ‘यो हामी नेपालीहरूको जीवनमरणको सवाल भएकाले सबैबाट भएको यथोचित प्रयासलाई भारत सरकारले सम्बोधन गरेको छ ।’
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यलगायतले पनि अक्सिजनको आपूर्तिमा प्रतिबन्ध हटाउन भारतीय अधिकारीलाई आग्रह गर्दै आएका थिए ।
भारतमा एक राज्यबाट अर्को राज्यमा लिक्विड अक्सिजनको आपूर्तिमा पनि समस्या हुने गरेको छ । एक साताअघि उत्तरप्रदेशबाट मध्यप्रदेश लैजान लागिएको अक्सिजनको ट्यांकर उत्तरप्रदेशका अधिकारीले खाली गराएका थिए । नेपाल आउँदै गरेका दुई अक्सिजन ट्यांकर पनि महाराजगन्ज उत्तरप्रदेशका अधिकारीले त्यहीँको स्थानीय अस्पतालका लागि खाली गराएका थिए । आजको नयाँ पत्रिकामा खबर छ l