शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

ई–सेवाबाट आईपीओ भर्न मिल्ने !

मंगलबार, बैशाख २१ २०७८

काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनीले आजबाट आयोजना प्रभावित र सिन्धुपाल्चोक जिल्लाका स्थानीयका लागि ६० लाख कित्ता आईपीओ निष्कासन गरेको छ। 

आईपीओका लागि सिन्धुपाल्चोक र काठमाण्डौका विभिन्न स्थानमा संकलन केन्द्र पनि तोकिएका छन्। तर निषेधाज्ञा र कोरोना महामारीबाट उत्पन्न परिस्थितिका कारण घरबाट बाहिर निस्किन समस्या भइरहेकाले कतिपय लगानीकर्तालाई आईपीओ भर्न सकस हुन सक्ने भएकाले अब ईसेवाबाट नै आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

ईसेवाबाट आवेदन दिनका लागि यसाे गर्नुहाेस् :

१. ईसेवा खाेलेर MBJCL – IPO (Local People) मा थिच्नुहाेस् ।
२. सिन्धुपाल्चोकवासी भएको क्लिक गरेपछि आफ्नो नाम, ठेगाना, डिम्याट नम्बर, नागरिकता नम्बर, आवेदन दिने कित्ता हाल्नुहाेस् ।
३. आईपिओ नपरेको पैसा इसेवा मै आउने कि बैंकमा आउने भन्ने छान्नुपर्छ ।  बैंकमा आउने भए बैंकको विवरण हाल्नुपर्छ । 
४. प्रोसिड क्लिक गरि आवेदन दिन सकिनेछ ।

कम्पनीले पहिलो चरणमा प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको छ भने बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको छ । 

कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको निष्कासन गर्न लागेको हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ।