शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बिशाल बजारको सेयरमा चलखेल !

सोमबार, बैशाख २० २०७८

बिशाल बजार कम्पनी लिमिटेडको सेयरमा लगानी गर्ने लगानीकर्ताहरु कुनै समय मालामाल हुन्छन् भने कहिले उनीहरुको बेहाल हुन्छ। कम्पनीको मूल्यमा बेलाबेलामा आउने उछालले कतिपय लगानीकर्ताहरुलाई  मालामाल बनाएको छ भने कतिलाइ बेहाल ।

गत बर्ष मंसिर ११ गते अधिकतम ४३४५ रुपैयाँ प्रतिकित्ता मूल्यमा कारोबार भएको बिशाल बजारको मूल्य पुस १८ गतेसम्म आइपुग्दा घटेर २६०० मा पुगेको थियो ।

यस कम्पनीका लगानीकर्ताहरुले लगानीको ३४ दिनमै ठूलो नोक्सानी व्यहोर्नु परेको थियो । ३४ दिनमै बिशाल बजारका लगानीकर्ताहरुले आफ्नो लगानीको ४० प्रतिशतभन्दा बढी नोक्सानी व्यहोर्न पर्यो । यो कम्पनीको सेयर मूल्य नाटकीय रुपमा घट्ने मात्र होईन नाटकीय रुपमा बढ्ने पनि गर्दछ ।

गत बर्ष असोज १८ गते १६२९ रुपैयाँमा कारोबार प्रारम्भ भएको कम्पनीको मूल्य मंसिर ११ गतेसम्म आइपुग्दा ४३४५ रुपैयाँ पुगेको थियो । यो ५३ दिनमा यस कम्पनीका लगानीकर्ताहरुले १६० प्रतिशतभन्दा बढी मुनाफा कमाएका थिए । कम्पनीको सेयर मूल्य जसरी नाटकीय ढंगले घटबढ भइरहेको छ । त्यसबाट कम्पनीको सेयरमा कुनै निहित समूह खेलिरहेको बुझाई लगानीकर्ताहरुको छ ।

नेप्सेमा ४ लाख ९१ हजार ४०० कित्ता मात्रै सेयर सुचिकृत कम्पनीले हालसम्म पनि लगानीकर्ताहरुलाई कुनै लाभांश वितरण गरेको भने छैन । बिगत तीन आर्थिक बर्षदेखि साधारणसभा नगरेको, बित्तीय विवरणहरु समेत समयमा सार्वजनिक नगरेको, सुसासन कमजोर रहेको भन्दै गत बर्ष माघ १८ गतेबाट नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कम्पनीको दोस्रो बजारमा कारोबार रोक्का गरेको थियो ।

करिब ३ महिना दोस्रो बजार कारोबार रोक्का भएको कम्पनीको अपरिष्कृत वित्तीय विवरण नेप्सेको वेबसाईटमा अपलोड गरिसकेको र छिट्टै साधारणसभा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेपछि नेप्सेको यहि बैशाख ८ गते (बुधबार) को निर्णयबाट बैशाख ९ गते बिहिबार विशाल बजारको दोस्रो बजारमा कारोबार फुकुवा गर्ने निर्णय भएको थियो ।

गत बर्ष माघ १८ गते २ हजार ८ सय ८० रुपैयाँमा अन्तिम कारोबार भएको कम्पनीको सेयर मूल्य कारोबार फुकुवापछि निरन्तर उकालो लागिरहेको छ । कारोबार सुरु भएदेखि ७ कारोबार दिनमा कम्पनीको सेयर मूल्य करिब शत प्रतिशतका दरले बृद्धि भइसकेको छ ।

बैशाख ८ गते २८८० रुपैयाँमा कारोबार प्रारम्भ भएको कम्पनीको सेयर मूल्य बैशाख १९ गतेको अन्तिम कारोबार सम्ममा ५ हजार ६ सय ८ रुपैयाँ पुगेको छ । बिगत ३ बर्षदेखि साधारणसभा नगरेका कारण ३ महिना कारोबार बन्द रहेको कम्पनीको सेयर मूल्य निरन्तर सकारात्म सर्किट ब्रेक लेभलमा बृद्धि हुनु अस्वभाविक रहेको बिश्लेषकहरुको तर्क छ ।

कम्पनीले हालै प्रकाशित गरेको आर्थिक बर्ष २०७७/२०७८ को पुष मसान्त सम्मको अपरिष्कृत बित्तिय विवरण अनुसार कम्पनीको वित्तिय अवस्था राम्रो देखिएको छ । यो अवधिमा कम्पनीले ८ करोड ३४ लाख मुनाफा कमाएको छ भने कम्पनीको प्रतिसेयर आम्दानी २५० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १ हजार ६ सय ८५ रुपैयाँ ३२ पैसा रहेको छ ।