शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कोरोना संकटमा गंगालाल अस्पतालले सुरु गर्‍यो अक्सिजन उत्पादन

सोमबार, बैशाख २० २०७८

गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निर्मित अक्सिजन प्लान्टले अक्सिजन उत्पादन सुरु गरेको छ । काठमाडौं महानगरपालिकाको दुई करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको प्लान्टबाट आइतबारदेखि अक्सिजन उत्पादन सुरु भएको हो ।

महानगर र अस्पतालबीच १५ माघ ०७६ मा अक्सिजन प्लान्ट स्थापना गर्ने सम्झौता भएको थियो । काठमाडौं महानगरले गंगालालमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गर्दा अहिलेको जस्तो अक्सिजनको अत्यधिक माग नभएको स्मरण गर्दै प्रमुख विद्यासुन्दर शाक्यले त्यसवेला गरेको निर्णयबाट अहिलेको कोरोना महामारी व्यवस्थापनमा लाभ बताए ।

‘गंगालाल हृदय केन्द्र र कान्ति बाल अस्पताल गरी दुई ठाउँमा हामी अक्सिजन प्लान्ट स्थापना गर्दै छौँ । दुई ठाउँबाट दैनिक करिब दुई सय सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । अबको केही दिनमा कान्तिको प्लान्टबाट पनि अक्सिजन उत्पादन सुरु हुन्छ । यसबाट कोरोनाका बिरामीमा प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरेको छु ।’ 

प्रमुख शाक्यले कुनै कारणले अस्पताल आउँदा अक्सिजन नपाएर बिचल्ली नहोस् भनेर महानगरले यस्तो निर्णय गरेको बताए । ‘घरमा बस्दा सर्जिकल मास्क भए पुग्छ । अस्पतालमा पुगेपछि अक्सिजनको मास्क चाहिन्छ । त्यसैले सबैभन्दा राम्रो घरमा बसेर संक्रमणको चक्र तोड्नु नै बुद्धिमानी हुन्छ,’ उनले भने ।

प्लान्टको दैनिक ४७ लिटरका १३५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता छ । यसमध्ये गंगालालमा दैनिक करिब ९० सिलिन्डर अक्सिजन खपत हुन्छ । बाँकी अक्सिजन भरेर अन्यत्र पठाउन सकिनेछ । यो (अक्सिजन भर्ने) प्रणाली जडान हुन बाँकी छ । प्लान्टमा ३७ किलोवाटको एअर कम्प्रेसर, ३ डिग्री सेल्सियससम्म चिसो पार्ने एअर ड्रायर, एक हजार लिटर क्षमताको एअर ट्यांक, दुईवटा अक्सिजन जेनेरेटरलगायत उपकरण राखिएका छन् । 

गंगालालमा आन्तरिक पाइप प्रणालीबाट अक्सिजन बिरामी भएको ठाउँमा पुर्‍याइएकाले सिलिन्डर नचाहिने भएकाले खर्च जोगिएको प्रमुख शाक्यले बताए । ‘चाहिएको वेलामा उपलब्ध हुन सक्ने गरी अक्सिजन भएपछि सिलिन्डर जोहो गरिरहनु पर्दैन । नचाहिने सिलिन्डर फिर्ता गरिदिनोस्,’ उनले भने, ‘गंगालालले बिरामीसँग अक्सिजनको पैसा लिँदैन र भेन्टिलेटरको पनि पैसा लिँदैन । यो निःशुल्क सेवा सञ्चालन गर्न महानगरले गरेको सहयोग उल्लेख छ ।’ 

अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले अक्सिजन प्लान्ट सुरु हुनुले कोरोनाका बिरामीलाई सहयोग पुग्ने बताए । उनले मुटु र मिर्गौला डायलासिस गर्ने उपकरण जडानका लागि काठमाडौं महानगरसँग अपेक्षा रहेको बताए । ‘एउटै बिरामीको मुटु उपचार र मिर्गौलाको डायलासिस गर्नुपर्ने अवस्थामा कठिन भइरहेको छ । गंगालालमै डायलासिस गर्ने उपकरण भइदिए मुटुको उपचार गराउन आउने बिरामीले डायलासिस गर्न अर्को अस्पताल जानुपर्ने थिएन । यसका लागि महानगरसँग हामीले अपेक्षा राखेका छौँ,’ अधिकारीले भने । आजको नयाँ पत्रिकामा खबर छ l