शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेपाल त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा

बुधबार, बैशाख ८ २०७८

काठमाडौं । नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ ।

सिरिज अन्तर्गत बुधबार नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकिएपछि नेपाल फाइनलमा प्रवेश गरेको हो ।

वर्षाले पटक पटक प्रभावित गरेको नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरी भएसँगै नेपाल एक खेल अगाबै फाइनल पुगेको हो ।

नेपालसँगै नेदरल्यान्ड्स पनि फाइनल पुगेको छ । मलेसिया भने बाहिरिएको छ ।

नेदरल्यान्ड्सले डीएल पद्दतिको आधारमा मलेसियालाई जितका लागि १३ ओभरमा १ सय २० रनको लक्ष्य दिएको थियो ।

तर, मलेसियाले जवाफी ब्याटिङ गरिरहदा वर्षाले पुनः खेल रोकिएको थियो । त्यसपछि सुरु भएको खेलमा मलेसियाले डीएलको आधारमा १० ओभरमा ९२ रनको नयाँ लक्ष्य पाएको थियो ।

९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मलेसियाले १० ओभरमा ४ विकेट गुमाएर ९१ रन बनाएपछि खेल (टाइ)  भएको थियो ।

यस अघि वर्षाको कारण १३ ओभरमा झारिएको खेलमा नेदरल्यान्ड्सले ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । तर,  डीएल पद्दतिको आधारमा मलेसियाले १ सय २० रनको लक्ष्य पाएको थियो ।

यस बराबरीसँगै नेदरल्यान्ड्सले ४ खेलमा ५ अंक जोडेको छ । नेदरल्यान्ड्स शीर्ष स्थानमा समेत उक्लिएको छ ।

३ खेलमा ४ अंक जोडेको नेपाल दोस्रो स्थानमा रहेको छ ।

३ खेलमा १ अंक जोडेको मलेसिया पुछारमा रहेको छ ।

अब लिगको अन्तिम खेलमा बिहीबार नेपाल र मलेसिया भिड्ने छन् ।

उक्त खेलले शीर्ष स्थान र दोस्रो स्थानमा रहने टिमको तय हुनेछ ।

मलेसियालाई हराएमा नेपाल शीर्ष स्थानमा रहदै फाइनल पुग्नेछ ।

नेपाल पराजित भएमा दोस्रो स्थानमा रहदै फाइनल यात्रा तय गर्नेछ ।

मलेसियालाई हार र जितले फरक पार्ने छैन ।

राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्ने तालिका रहेको छ ।