काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई पार्टीको बिचमा लभ परिरहेको बेला अदालतले पार्टी विघटन गरिदिँदा अहिलेको अवस्था आएको बताए। पुस ५ गतेको कदमपछि प्रधानमन्त्री ओलीलाई पार्टीबाट, संसदीय दलबाट कारबाही गरी निकालेको अवस्थामा फेरी अदालतले पार्टी नै विघटन गरेर पुरानै अवस्थामा पुर्याइदिनु समस्या भएको बताए।
नेकपाका माधवकुमार नेपाल, झलनाथ खनाल समूहसँग आफ्नो गहिरो माया पिरती भइरहेको बेलामा सर्वोच्च अदालतले डिभोर्स गराइदिँदा अहिले दुःख भइराखेको बताए।
उनले भने, ‘हाम्रो त लभ परिराख्या थियो। दुईवटा पार्टीको त लभ परेर तपाईहरुले देख्नु भयो नी २८ गतेको आमसभामा म कसरी बोलेको थिए माधव जी कसरी बोल्नु भयो, झलनाथ जी कसरी बोल्नुभयो। लभ नपरेका त्यसरी बोलिन्थिएन नी त।
लभ परेको श्रीमान श्रीमतीलाई त अदालतले जबरजस्ती डिभोर्स गरिदिन पाइन्छ? लभ परि राखेकालाई डिभोर्स गर्ने यो त प्राकृतिक रुपले पनि अन्याय भयो। कतैबाट पनि मिल्ने कुरा हो त। अब अहिले दुलाहा दुलही दुई वटै रुँदै रुँदै आफ्नो आफ्नो घरमा। त्यसो भएर मैले यसलाई अप्राकृतिक, अस्वभाविक, अनैतिक, गलत र सेटिङमा भयो त हाम्रो के दोष भयो त त्यहाँ। लभ गर्नु गल्ति भएको हो त?’
कम्युनिष्ट आन्दोलनको एकता आवश्यक रहेको बताए। आफूहरुले अदालतको फैसलालाई अप्राकृतिक र अव्यवहारिक भनेको पनि बताए। अदालतले पार्टीलाई पुरानै अवस्थामा फर्काइ दिएपनि कम्युनिष्ट एकता अहिलेको आवश्यकता भएको पनि तर्क गरे। पार्टीलाई बलियो बनाएपछि मात्रै सम्भव हुने बताए।